
दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । सौगात मल्ल, मलिका महत र नाजिर हुसेनपछि फिल्ममा थप तीनजना कलाकारहरु प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल जोडिएका छन् । योसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । फिल्ममा केही भारतीय कलाकार पनि जोडिनेछन् ।
सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन आगामी जेठ १२ गतेबाट सुरु हुनेछ । फिल्मको कथा निर्देशक चौधरी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । प्रकाश मल्ल र अनिष तामाङ फिल्मका निर्माता हुन् । फिल्ममा सौगात र नाजिरले शरीरमा ठूलो बदलाव ल्याउनु पर्नेछ । नाजिरले फिल्मका लागि २० केजी तौल बढाउनु पर्ने जानकारी प्राप्त छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने फिल्मको छायांकन नेपालमा काठमाडौं र नवलपरासीसँगै भारतमा गोरखपुर र बनारसमा हुनेछ । फिल्मलाई संजय लामाले खिच्नेछन् । ‘अगस्त्य’लाई निर्देशक चौधरी आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनका अनुसार, फिल्म एक्सन प्रधान कथामा बन्नेछ । फिल्मको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

