.jpg)
फिल्म निर्माणमा सफल मानिएका किरण नेपालीले अब निर्देशनमा हात हाल्ने भएका छन् । उनको डेब्यू निर्देशनमा फिल्म ‘सोली डोली’ बन्न लागेको हो । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथामा बन्न लागेको फिल्ममा चारजना नायक र तीनजना नायिका हुने किरणले जानकारी दिए । असोजबाट फिल्मको छायांकन सुरु हुनेछ ।
निर्माता नेपालीले भने, ‘मैले फिल्म निर्माणमा सिकेका कुरालाई इमानदारपूर्वक निर्देशनमा प्रयोग गर्नेछु । दर्शकलाई उत्कृष्ट फिल्म दिन कुनै कुरामा कसर छाड्ने छैन । स्क्रिप्ट अत्यन्त बलियो भएकाले फिल्म पनि राम्रो बनाउन सक्छु भन्ने आत्मविश्वास छ ।’ उनले यसअघि ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’ फिल्मको निर्माण गरिसकेका छन् । दुवै फिल्म व्यावसायिक रुपमा सफल भएका थिए ।
‘सोली डोली’मा अमलादेवी राई, प्रदीप भारद्वाज, हिमालय शर्मा र सुरज आचार्य निर्मातामा रहेका छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन् । निर्माता नेपालीले अघिल्लो वर्ष ‘दुई नम्बरी’कै स्टारकास्टलाई अनुबन्धित गर्दै फिल्म ‘हात्तीछाप’ निर्माणको घोषणा गरेका थिए । सिमोस सुनवारको निर्देशनमा बन्ने फिल्मको आगामी जेठबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

