
नेपाललाई १०४ वर्षे राणा शासनमा धकेलेको कोत पर्व (नेपालको इतिहासमा नै दोश्रो ठूलो हत्याकाण्ड)मा आधारित भएर निर्देशक रिमेश अधिकारीले फिल्म बनाउने भएका छन् । ‘कोत पर्व’ नाम राखिएको फिल्मको आउँदो माघ २१ गतेबाट छायांकन सुरु हुने जानकारी दिँदै रिमेशले स्क्रिप्ट लेखनको काम सकिएको र अहिले इतिहास विद्हरुसँग स्क्रिप्टमा छलफल भैरहेको बताएका छन् ।
उनले फिल्ममा पुराना कहलिएका कलाकारहरुसँगै पछिल्ला छिमलका चलेका कलाकारहरुको पनि अभिनय रहने जानकारी दिए । तर, अहिलेसम्म फिल्मका लागि कुनै कलाकार छानिएका छैनन् । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केही स्वदेशी तथा विदेशी कम्पनीहरुले पनि निर्माणमा सहकार्य गर्ने बताइएको छ । महेश दवाडीले फिल्मको कथा लेखेका हुन् ।
नेपालीसँगै हिन्दी र चाइनिज भाषामा पनि छायांकन हुने फिल्मलाई एकसाथ विश्वव्यापी रिलिज गरिने निर्देशक अधिकारी बताउँछन् । फिल्ममा विदेशी कलाकारलाई पनि अभिनय गराउने योजना उनको छ । फिल्मको पोस्ट प्रोडक्सनको काम मुम्बईको स्टुडियोमा गरिने उनले बताए । ‘नालापानी’मा भएको कमी-कमजोरीलाई सुधार्दै यसपटक उत्कृष्ट र स्तरीय फिल्म बनाउने उनको दाबी छ ।
रानीको विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरूबीच विवाद हुँदा मच्चिएको हत्याकाण्डलाई ‘कोत पर्व’ भनिन्छ । यो हत्याकाण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो । यो घटनामा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको हत्या भएको थियो । जङ्गबहादुर राणा प्रधानमन्त्री बन्नु यसैको नतिजा थियो ।

