शिक्षकलाई समाजको आदर्श व्यक्ति मानिन्छ । उनीहरुलाई हरेक कुराको ज्ञान हुनुपर्छ भन्ने मान्यता छ । कलाकार महेश त्रिपाठी पनि शिक्षक हुन्, अभिनयका । लामो समयदेखि उनले फिल्म कलेजमा अभिनयको विभिन्न आयामबारे पढाउँदै/सिकाउँदै आएका छन् । अभिनयकै शिक्षक भएकाले उनलाई अभिनयमा कमजोर हुन छुट छैन भनिन्छ । तर, यो बुझाइप्रति सहमत छैनन्, महेश ।
बाहिरबाट हेर्दा शिक्षक हो त्यसैले राम्रो अभिनय गर्नुपर्छ भन्ने लागेता पनि पाएको चरित्रलाई न्याय गर्ने जिम्मेवारी हरेक कलाकारको हुने उनको जिकिर छ । आफूले पनि यसलाई जिम्मेवारीको रुपमा नै लिने उनी बताउँछन् । उनी भन्छन्, ‘शिक्षक हो त्यसैले राम्रो अभिनय गर्नुपर्छ भन्ने होइन । कलाकार हो त्यसैले राम्रो गर्नुपर्छ भनेर सोच्नु पर्छ । एउटा कलाकारले कलाकारिता राम्रो गर्नुपर्छ ।’
नेपाली फिल्ममा करिब एक दशक विताइसकेका उनले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘हल्कारा’ यही बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ । कलेजमा पढाउँदै गर्दा उनलाई यो फिल्मको स्क्रिप्ट पढ्नलाई प्रस्ताव आएको थियो । त्यसबेला उनले ‘फिडब्याक’ लिनका लागि हुनसक्ने ठानेका रहेछन् । जब स्क्रिप्ट पढ्दै गए तब उनलाई नै फिल्ममा अभिनय गर्ने हुटहुटी जाग्यो ।
उनी सम्झन्छन्, ‘स्क्रिप्ट पढ्दा पढ्दै एकखालको लोभ लाग्यो । किनकि, यो राम्रो सम्भावना भएको स्क्रिप्ट हो । यस्तोमा त मैले पनि काम गर्नुपर्छ भन्ने लाग्यो । अनि म पनि अडिसन दिन्छु नि भनेर निर्मातालाई भनेँ । उहाँहरुले मलाई लिने ‘प्लान’ बनाइसक्नुभएको रहेछ । तर, मलाई थाहा थिएन । मैले अडिसन दिएँ । स्क्रिन टेस्ट, अरु कलाकारहरुसँगको केमेस्ट्री हेरेपछि फिल्ममा म जोडिएँ ।’
.jpg)
फिल्ममा उनी छनोट त भए तर पहिलो पटक लिड क्यारेक्टर गर्न लागेकाले उनलाई चुनौती महसुस भैरहेको थियो । त्यसका लागि उनले चरित्र निर्माणमा पर्याप्त समय लिए । समाजसँग घुलमिल भए । ‘कोठाभित्र बसेर क्यारेक्टर बुझिँदैन,’ उनको बुझाइ छ, ‘क्यारेक्टरको मनोदशा किन निर्माण भएको छ भन्ने निष्कर्ष निकाल्न समाजको गहन अध्ययन गर्नुपर्छ । मैले पनि त्यो प्रयास गरेँ ।’
फिल्ममा उनले हल्कारा अर्थात् चिठी पुर्याउने हुलाकीको भूमिका निभाएका छन् । उनलाई आफूले निभाएको चरित्रमा समाजको चित्र देखिन्छ भन्ने लाग्छ । ‘मैले निर्वाह गरेको चरित्रमा समाजको चित्र छ । जति बेला चिठ्ठीको समय थियो, त्यो बेलाको युवाहरुको अवस्थालाई देखाइएको छ । फिल्मले एउटा मात्र चिजलाई समेटेको छैन, सबै चिजहरुको समिश्रण मेरो चरित्रमा छ,’ उनी सुनिए ।
फिल्मले उठाएको कथा हरेक घरको रहेको उनको जिकिर छ । यसैले दर्शकले आफ्नो कथा महसुस गर्ने उनको विश्वास छ । ‘मैले निर्वाह गरेको क्यारेक्टरमा युवाले आफ्नो चित्र देख्न सक्छन् भने फिल्मको समग्र कथाभित्र हाम्रो घर र समाज देखिन्छ,’ उनले भने । वैदेशिक रोजगारीले समाज र युवाहरु कस्तो असर गरिरहेको छ भन्ने विषयलाई फिल्मले गहन ढंगले उठाएको उनको भनाई छ ।
ट्रेलर रिलिजपछि केहीले ‘हल्कारा’लाई आर्ट हाउस संरचनाको फिल्म मानिरहेका छन् । तर, फिल्मले तीन करोड नेपालीको कथा भनेकाले यो कमर्शियल फिल्म रहेको महेशको तर्क छ । उनी कुनै पनि फिल्मलाई आर्ट हाउस र कमर्शियल भनेर वर्गिकरण गर्ने पक्षमा भने छैनन् । फिल्म निर्माणको चरणसम्म आर्टिस्टिक हुने र हलमा प्रदर्शन भएपछि कमर्शियल हुने उनको स्पष्ट बुझाइ छ ।
उनी भन्छन्, ‘हरेक फिल्म कमर्शियल हुन्छ । किनभने, त्यहाँ लगानी हुन्छ । र, म फिल्मलाई आर्ट हाउस र कमर्शियल भनेर चाहिँ हेर्दिनँ । त्यसरी हेरिनु पनि हुँदैन । फिल्म बनाउँदासम्म आर्टिस्टिक हुन्छ र त्यसपछि जब मार्केटमा जान्छ तब कमर्शियल हुन्छ । तर, हरेक फिल्मको भ्यालू आ-आफ्नै हुन्छ । ‘हल्कारा’मा तीन करोड नेपालीको कथा छ । अनि यो जत्तिको कमर्शियल के हुन्छ ?’
यो फिल्मबाट उनले अमेरिकाको प्रतिष्ठित ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । यसले उत्साह थप्नुका साथै कामप्रति थप जिम्मेवार महसुस गराएको उनको अनुभव छ । उनी अगाडि भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा पुगेर नेपाली फिल्मले अवार्ड जित्नु भनेको हरेक नेपालीका लागि गर्वको कुरा हो । यसैले यो सम्पूर्ण नेपालीको फिल्म हो ।’

