Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृष्ण जन्माष्टमीमा ‘भगवत् गीता’ !

फिल्मीखबर, काठमाडौं, 2023/05/05

bhagwat geeta

 

यस वर्षको बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म थियो, ‘भगवत् गीता’ । तर, कलाकार छनोट गर्न ढिलाई हुँदा फिल्म निर्धारित समयमा छायांकनमा निस्कन सकेन र प्रदर्शन मिति पोस्टपोन्ड भयो । मुख्य अभिनेतामा धिरज मगरलाई अनुबन्धित गर्दै गत माघ अन्तिम साताबाट फिल्मको छायांकन सुरु भएको थियो । अब फिल्मको १० प्रतिशत मात्र छायांकन हुन बाँकी रहेको छ ।

फिल्मको नाम भगवान् श्रीकृष्णसँग सम्बन्धित रहेकाले निर्माण टिमले कृष्ण अष्टमीलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारीमा छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार कृष्ण जन्माष्टमीलाई लक्षित गर्दै भदौ १४ गते (बिहीबार) जनै पूर्णिमाको दिनबाट फिल्मलाई प्रदर्शन गर्ने गृहकार्यमा निर्माण टिम छ । भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा छ ।

निर्माता सुनिल कुमार थापाले पनि फिल्म कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउने स्वीकार गरे । उनले भने, ‘फिल्म भदौमा नै प्रदर्शन हुन्छ र कृष्ण अष्टमीकै अवसरमा रिलिज हुन्छ । तर, प्रदर्शन मिति अहिलेसम्म तय गरेका छैनौं ।’ भदौ ८ मा शाहरुख खानको ‘जवान’ र भदौ २९ मा ‘नाङ्गो गाउँ’ र ‘ऐँचो पैँचो’ रहेकाले ‘भगवत् गीता’ले भदौ १४ गतेदेखि नै प्रदर्शन थाल्ने सम्भावना छ ।

झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा धिरजको अपोजिटमा अभिनेत्री सुहाना थापा छिन् । विपिन कार्की, कबीर खड्का, अनुराग कुँवरको पनि अभिनय छ । फिल्ममा विपिनको भूमिका र लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाउने बताइएको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका छायाँकार संजय लामा हुन् ।