नारीलाई सुहाउने साडी भनिन्छ । साडीले ग्ल्यामरस लुक दिने भएका धेरै नेपाली अभिनेत्रीहरु विशेष समारोहमा साडीमा सजिएर पुग्ने गर्छन् । केही भने विरलै साडीमा देखिन्छन् । त्यसमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पहिलो पटक फिल्म ‘रातो टीका निधारमा’को गीत रिलिजमा साडी लगाएर पुगेकी थिइन् । त्यसबेला उनले साडी मनपर्ने भएपनि लगाउन नआउने बताएकी थिइन् ।
.jpg)
धेरैपछि उनी फेरि एकपटक साडीमा देखिएकी छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा कालो रंगको साडीमा खिचेका तस्बिरहरु सेअर गरेकी छन्, जसमा उनको ग्ल्यामरस लुक देखिएको छ । साम्राज्ञीले पहिलो पटक आफूले आमा (नेहा आरएल शाह)को साडी लगाएको पनि बताएकी छन् । उक्त पोस्टको कमेन्टमा धेरैजनाले उनको सुन्दरताको प्रशंसामा शब्द कोरेका छन् ।

फिल्मभन्दा बढी अफेयरका कारण चर्चामा आउने गरेकी साम्राज्ञीको अघिल्लो वर्ष ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ १५ दिनको अन्तरालमा प्रदर्शनमा आएका थिए । तर, दुवै फिल्मले उनको संकटन्मुख करिअर बचाउन सकेनन् । त्यसअघि उनका ‘कायरा’, ‘रातो टीका निधारमा’ र ‘मारुनी’ पनि फ्लप भएका थिए । उनी फिल्मको स्क्रिप्ट र टिम छनोटमा चुकेको टिप्पणी हुने गरेको छ ।
.jpg)
यस वर्ष भने उनको खातामा एउटा सुपरहिट फिल्म थपिन सक्ने सम्भावना छ । ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘नाङ्गो गाउँ’मा उनको मुख्य भूमिका छ । ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरका साथै कार्मको पनि अभिनय रहेको छ । साम्राज्ञीलाई यो फिल्मबाट ठूलो आशा छ । योबाहेक भने उनले नयाँ फिल्म साइन गरेको जानकारीमा छैन ।

