बैशाख १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘जारी’ यस वर्षको पहिलो ब्लकबस्टर बनेको छ । शुक्रबारबाट चौंथो हप्तामा प्रदर्शन थालेको फिल्मले अझै मल्टीप्लेक्सहरुमा राम्रो शोसहित दर्शकको साथ पाइरहेको छ । यसपछि प्रदर्शनमा आएका फिल्म भने बक्सअफिसमा निकै कमजोर देखिएका छन् । हिट फिल्मका सिक्वेललाई समेत दर्शकहरुले रत्तिभर विश्वास गरेको देखिएन ।
अघिल्लो हप्ता प्रदर्शन भएका तीन फिल्ममध्ये ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’ हिट फिल्मको श्रृंखला थिए । तर, दुवै फिल्म व्यापारमा दयनीय देखिएका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस सिस्टममा ‘प्रसाद २’को एक हप्ते कमाई ७० लाख र ‘नाईं नभन्नू ल ६’को २५ लाख ग्रस देखिन्छ । ठूलो आशा र अपेक्षा गरिएका यी दुई फिल्मको व्यापार अंकले फिल्म क्षेत्रलाई स्तब्ध बनाएको छ ।

छायांकन नहुँदैदेखि श्रृंखलाबद्ध विवाद र कमजोर प्रचारले ‘प्रसाद २’को व्यापारमा असर पारेको आँकलन फिल्मकर्मीहरुको छ । यद्यपि, फिल्मको ‘वर्ड अफ माउथ’ बलियो थियो । तर, त्यसको प्रभाव व्यापारमा भने देखिएन । अब फिल्मको व्यापार सुधारन्मुख हुने सम्भावना देखिएको छैन । तथापि, दोस्रो हप्तामा प्रायः मल्टीप्लेक्सहरुले थोरबहुत शो दिएर फिल्मलाई टिकाइराखेका छन् ।
‘नाईं नभन्नू ल ६’लाई भने पहिलो हप्ताबाटै प्रायः मल्टीप्लेक्सहरुले उतारेका छन् । नेपाली फिल्मको इतिहासमै पहिलो पटक हिट फिल्मको सिरिज एक हप्तामै हलबाट उत्रिएको यो पहिलो पटक हो । योसँगै ब्रान्ड चल्छ भन्ने भ्रम पनि लगभग हटेको छ । यसका अघिल्ला पाँच श्रृंखलाबाट निर्माताले राम्रो कमाएका थिए । यसपटक पोस्टर छपाईको पैसा पनि फिल्मले उठाउन नसक्ने देखिन्छ ।
उपेन्द्र सुब्बा निर्देशित ‘जारी’को भने पैसा छाप्ने काम जारी नै छ । फिल्मले तीन हप्तामा १५ करोड कमाएको बोर्डको बक्सअफिस सिस्टममा देखिन्छ । केही हलमा बक्सअफिस सिस्टम जडान नभएकाले फिल्मको कमाई १६ करोड आसपास हुनसक्ने आँकलन गरिएको छ । चौंथो हप्तामा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति राम्रो छ । फिल्मले केही हप्ता अझै हल छाड्ने अवस्था देखिन्न ।

