Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठबाट सरेर साउन ६ मा पुग्यो अमेरिकामा हुने नेफ्टा अवार्ड

फिल्मीखबर, काठमाडौं, 2023/05/04

nefta1

 

हलिउड भूमि अमेरिकामा आयोजना हुन लागेको ११औं नेफ्टा अवार्ड पूर्वनिर्धारित मिति (जेठ १३)मा नहुने भएको छ । अवार्डका लागि आवश्यक तयारी नपुगेको भन्दै दुई महिनालाई अवार्ड पोस्टपोन्ड गर्दै साउन ६ गते (जुलाई २२)लाई नयाँ मिति तय गरिएको छ । उक्त अवार्डको मनोनयन घोषणा भने आगामी बैशाख ३१ गते गरिने आयोजक संस्था चलचित्र प्राविधिक संघले जनाएको छ ।

मनोनयनमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउने संघका अध्यक्ष पुष्कर लामा (प्रेम भोञ्जन)ले बताए । अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । जुरीले फिल्म हेरेर मूल्यांकन गर्ने काम सकेका छन् । अमेरिकाभन्दा अगाडि नेफ्टाका विभिन्न संस्करणहरु युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् ।

अमेरिकी संस्करणका लागि प्राविधिक संघसँग फेम नेपाल, युएस खबर र आर्यन फिल्म्सले सहकार्य गरेका छन् । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित अमेरिकामा अवार्ड गर्न लागिएको अध्यक्ष लामाले बताए । आयोजक संस्था फेम नेपालका अध्यक्ष विमल पछाइले नेफ्टा अवार्डमार्फत हलिउड र बलिउडसँग सहकार्य गरेर संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको बताएका छन् ।

अवार्डको उत्कृष्ट अभिनेता र अभिनेत्रीको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारबाट प्रदान गराउने तयारीमा आयोजक संस्था छ । अवार्डभन्दा अगाडि टेक्सासस्थित नेपाली समुदायलाई समेटेर २ किलोमिटर नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएको छ । नेफ्टाको १०औं संस्करण अघिल्लो वर्ष काठमाडौंको एक पाँचतारे होटलमा सम्पन्न भएको थियो ।