Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रिलिज नियम कुल्चिएर ‘ज्याकी’ बिहीबारबाटै प्रदर्शनमा, संघ-संस्था मूकदर्शक

फिल्मीखबर, काठमाडौं, 2023/05/04

चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र निर्माता संघसहित फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुबीच भएको दशैं, तिहार, तिज र नयाँ वर्षका निश्चित विदाबाहेक अन्य मितिमा शुक्रबार मात्र फिल्म प्रदर्शन गर्नुपर्ने नियम र पद्धतीको पटक-पटक धज्जी उड्दै आएको छ । यो नियमलाई कुल्चिएर कहिले विदेशी फिल्म त कहिले नेपाली फिल्म नै जुनसुकै मितिमा प्रदर्शन हुँदै आएका छन् ।

विशेषगरी यो नियम नमान्नेमा विदेशी फिल्म अगाडि छ । ‘भारत’, ‘लाइगर’, ‘भोला’ जस्ता फिल्म शुक्रबार अगावै नेपालमा प्रदर्शन भए । यसलाई रोक्न न चलचित्र विकास बोर्ड न फिल्म सम्बद्ध संघ-संस्थाहरुले कुनै कदम चाल्न सके । यसबाटै हौसिएर हुनसक्छ, नेपाली निर्माताले पनि रिलिजको नियम कुल्चिन थालेका छन् । फिल्म ‘ज्याकी : आइ एम ट्वान्टी वान’ यसको नयाँ उदाहरण हो ।

 

Dhiraj magar and  assita gurung


फिल्मको नाममा २१ रहेकाले निर्माताले प्रदर्शन पनि बैशाख २१ गते रोजेका हुन् । तर, यो मिति शुक्रबार परेन र आज बिहीबारबाटै फिल्म प्रदर्शनमा आएको छ । यसरी फिल्मको नामलाई आधार बनाएर जुनसुकै मितिमा प्रदर्शन गर्ने प्रवत्तिलाई प्रशय दिने हो भने रिलिजको परम्परा ध्वस्त हुनसक्छ । तर, यही फिल्मको प्रिमियरमा बोर्ड अध्यक्ष भुवन केसी पुगेर दूधको साक्षी विरालो बनिदिए ।

निर्माता संघको अध्यक्षमा निर्वाचित भएपछि नवल खड्काले पहिलो बैठकमै फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गरिने र कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका थिए । तर, ‘ज्याकी’ले रिलिज नियम उल्लंघन गर्दा पनि निर्माता संघ आँखामा पट्टी बाँधेर बसेको छ । मिडियाबाजीमा रमाउने अध्यक्ष खड्का भने ससुराली घुम्दैमा व्यस्त छन् ।

‘ज्याकी’ बिहीबारबाटै प्रदर्शनमा आउँदा अघिल्लो हप्ताका ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’को एक दिन अगावै धेरै शो खोसिएको छ । रिलिजलाई व्यवस्थित गर्नुपर्ने दायित्व चलचित्र विकास बोर्ड र फिल्म सम्बद्ध संघ-संस्थाहरुको हो । तर, यहाँ सानालाई ऐन र ठूलालाई चैन भैरहेको छ । भोलिका दिनमा ‘ज्याकी’ले झैं धेरै नेपाली फिल्मले रिलिजको नियम कुल्चिन सक्ने सम्भावना देखिन्छ ।