Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क-कसले पाउँदैछन् ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ ?

फिल्मीखबर, काठमाडौं, 2023/04/30

film journalist association nepal

 

चलचित्र पत्रकार संघ नेपाल (एफजेए)को २४औं वार्षिकोत्सवको अवसरमा सात जना चलचित्र पत्रकारहरु सम्मानित तथा पुरस्कृत हुने भएका छन् । आइतबार काठमाडौंमा बसेको संघको कार्यसमिति बैठकले आगामी जेठ ७ गते शातिप्रिय, तुलसी गिरी, श्रीराम सिग्देल, कुबेर डंगोल, दीपज्योति थापा, सृष्टि पोखरेल र रवि अधिकारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्न लागिएको हो । संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष समेत रहेका उनलाई २५ वर्षदेखि निरन्तर चलचित्र पत्रकारितामा सक्रिय र २३ वर्षदेखि संघमा निरन्तर आबद्ध रहेको भन्दै संघले रजत सम्मानबाट सम्मानित गर्न लागेको हो । यो सम्मान यस वर्षदेखि नै सुरु भएको हो ।

त्यस्तै, संघले तुलसी गिरी भावुक र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’, सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागेको हो ।

संघले पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशित पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ । आगामी जेठ ७ गते काठमाडौंमा भव्य समारोहका बीच सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । संघले हरेक वर्ष जेठ ७ गते वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार चलचित्र पत्रकारिता क्षेत्रकै सबैभन्दा प्रतिष्ठित मानिन्छ ।