फिल्मको चर्चा बनाइराख्न कलाकारको लुक्सले ठूलो भूमिका खेल्छ । उदाहरणको रुपमा साउथ फिल्म ‘पुष्पा २ : द रुल’लाई लिन सकिन्छ । सुपरस्टार अल्लू अर्जुनले साडी लगाएको एउटा पोस्टरले फिल्मलाई चौगुणा चर्चा दिलायो । नेपाली मेकरहरु भने सुटिङ सेटबाटै किस्ता-किस्तामा कलाकारको लुक्स सार्वजनिक गरिदिन्छन् । जसले गर्दा रिलिजसम्म फिल्मप्रति उत्साह नै बाँकी रहँदैन ।
निर्देशक लक्ष्मण सुवेदीले पनि फिल्म ‘सतीदेवी’को सेटबाट एक-एक गर्दै कलाकारको लुक्स सार्वजनिक गरिरहेका छन् । फिल्मकी मुख्य अभिनेत्री मालिका महत हुँदै उनले सहायक कलाकारको लुक्स समेत सार्वजनिक गरिसकेका छन् । विशेषगरी मालिकाको लुक्स र भूमिकालाई लिएर धेरैमा चासो थियो । किनकि, उनी नाम चलेकी कलाकार हुन् । त्यसमाथि फिल्म नै उनको काँधमा छ ।
(1).jpg)
तर, निर्देशक सुवेदीले छायांकनका लागि लमजुङ पुग्नसाथ उनको भूमिका खेल्ने गरी क्यारेक्टर लुक्स सार्वजनिक गरिदिए । उनले फेसबुकमा पोस्ट गरेको तस्बिरमा मालिका निकै दुब्ली देखिएकी छन् । पहेँलो रंगको मुजा परेको कुर्था-सुरुवाल लगाएकी उनको हातमा खुर्पा र भूइँमा स्याउलाको भारी छरपस्ट छ । यसबाट फिल्ममा उनको भूमिका गाउँले युवतीको रहेको स्पष्ट बुझ्न सकिन्छ ।
मालिकाले फिल्म ‘पानीफोटो’बाट गाउँले चरित्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेकी छन् । तर, ‘सतीदेवी’मा मालिकाको लुक्स फरक देखिएको छ । यसलाई निर्देशक सुवेदीले फर्स्टलुक पोस्टरमा समेट्न सकेको भए फिल्मले ठूलो चर्चा पाउन सक्थ्यो । तर, उनले धैर्य गर्न नसक्दा फिल्ममा मालिकाको लुक्स र भूमिकालाई लिएर भैरहेको चासो सुटिङ नसकिँदै लगभग मेटिन पुगेको छ ।
काठमाडौंमा दुई दिन छायांकनपछि फिल्मको टिम बाँकी छायांकनका लागि लमजुङ पुगेको हो । निर्देशक सुवेदीकै गीत, स्क्रिप्ट र निर्माण रहेको फिल्ममा भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दिप बाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसाद श्रेष्ठ, मनिषा सापकोटा, सृजना अधिकारी, बाल कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँको अभिनय छ ।

