
टिकटकबाट उदाएर म्यूजिक भिडियोमा जमेकी मोडल गरिमा शर्मा अब अभिनेत्रीको रुपमा स्थापित हुने प्रयासमा छिन् । कोरोना महामारीपछि उनले लगातार फिल्म साइन गरिरहेकी छन् । उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको पखाईमा छ भने दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ दोस्रो चरणको छायांकनको तयारीमा छ । यसबीच, गरिमाले तेस्रो फिल्मको रुपमा ‘दौँतरी’ साइन गरेकी छन् ।
मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा उनी शुक्रबार अनुबन्धित भएकी हुन् । यस अगाडि फिल्ममा आर्यन सिग्देल, मुकुन भुसाल र साक्षी लम्साल अनुबन्ध भैसकेका छन् । फिल्ममा गरिमाको जोडी आर्यन र मुकुनमध्ये कोसँग बाँधिन्छ, त्यसबारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक भट्टराई छन् ।
निर्देशक समेत रहेका लक्ष्मण सुवेदीले फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् । मधुसुदनले यसअघि ‘निर्भय’, ‘प्रतिकार’, ‘ब्ल्याक नाइट’, ‘ब्ल्याक मेल’, ‘डेस्टिनेशन काठमाण्डू’ फिल्मको निर्देशन गरिसकेका छन् । उनी झन्डै ५ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।

