Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ६’ : एल्भिना उम्दा, आँचल मध्यम, आशिर्वाद कमजोर

फिल्मीखबर, काठमाडौं, 2023/04/29

‘नाईं नभन्नू ल’ सिरिज कलाकार जन्माउने फ्याक्ट्री हो । यो सिरिजले जन्माएका धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित छन् । अनुभव रेग्मी, वर्षा सिवाकोटी, पल शाह, वर्षा राउत, आँचल शर्मा, सेड्रिना शर्मा, अभिषेक नेपाल यही फिल्मको सिरिजका उत्पादन हुन् । शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘नाईं नभन्नू ल ६’बाट पनि निर्देशक विकासराज आचार्यले केही नयाँ कलाकारलाई भित्राएका छन् ।

यसपटक मुख्य भूमिकामा ब्रेक पाउनेमा तीन नयाँ अनुहार छन्, अभिनेतामा आशिर्वाद क्षेत्री र बाल कलाकारमा एल्भिना खड्का र अथर्व उप्रेती । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । फिल्ममा अन्य केही बाल कलाकार पनि नयाँ छन् तर उनीहरुको ‘स्क्रिन स्पेश’ कम छ । आशिर्वाद, एल्भिना र अथर्व भने फिल्मको कथालाई नै अगाडि धकेल्ने पात्र हुन् ।

फिल्ममा अभिनेत्री आँचल शर्माको पनि अभिनय छ । रोल छोटै भए पनि केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्काले पनि अभिनय गरेका छन् । तर, नयाँ/पुराना सबै कलाकारमाथि एल्भिना हाबी छिन् । उनको मुश्किलले १०/१२ सिन छ तर अभिनय उम्दा छ । उनले बोल्ने केही संवाद गरुङ्गा छन् । विशेषगरी क्लाइमेक्समा । उनले ती संवाद पनि सहज रुपमा प्रस्तुत गरेकी छन् ।

 

Aanchal Sharma, Ashirwad B Chhetri And alvina khadka


५/६ मिनेट लम्बाईको क्लाइमेक्स एल्भिनाकै काँधमा छ । त्यहाँ उनको मात्र संवाद छ । ‘इमोसनल’ भएर अभिनय गर्नुपर्ने सिनमा उनी जीवन्त देखिएकी छन् । उनले धानेको क्लाइमेक्स नै फिल्मको सबैभन्दा बलियो र सुन्दर पक्ष हो । फिल्म हेरेर निस्कँदा समेत उनले क्लाइमेक्समा गरेको अभिनय आँखाबाट हट्दैन । उनलाई सुन्दरताले पनि साथ दिएको छ । उनी फिल्मको मेरुदण्ड हुन् ।

अथर्वको अभिनय भने औसत छ । यद्यपि, क्यारेक्टर रोचक छ । तर, उनको अनुहारको भावभंगीसँग संवाद बोल्दा तालमेल छैन । फरक-फरक अवस्था र परिस्थितिका संवादमा उनको एउटै भावभंगी छ । यो निर्देशकको कमजोरी हो । किनकि, कलाकारबाट कस्तो र कसरी काम निकाल्ने त्यो निर्देशकमा नै भर पर्ने कुरा हो । अथर्व हरेक कुरा गुगलमा सर्च गर्ने पात्रको रुपमा प्रस्तत छन् ।

त्यस्तै, डेब्यू ब्वाई आशिर्वाद क्षेत्री अभिनयमा कमजोर छन् । उनले शरीर सुगठित बनाउन गरेको मिहिनेत अभिनयमा भने देखिँदैन । हुन त कलाकारबाट अभिनय निकाल्ने काम निर्देशकको हो । यसमा निर्देशक र आशिर्वाद दुवै चुकेका छन् । संवाद नबोल्दा आशिर्वादमा कुनै खोट देखिन्न तर संवाद बोलेपछि खोटबाहेक केही देखिन्न । यद्यपि, एक्सन र नृत्यमा उनी छरितो देखिएका छन् ।

फिल्मको केन्द्रिय पात्र हुन्, आँचल शर्मा । उनकै चरित्रले कथामा उतारचढाव ल्याउँछ । फिल्ममा उनको चरित्रको तीन चरण छ । तर, त्यसमा उनको अभिनय भने मध्यम छ । उनले बच्चाको स्वभावमा गरेको अभिनय नाटकीय लाग्छ । निर्देशकले पनि उनलाई अभिनयमा भन्दा पहिरनबाट सुन्दर देखाउन मिहिनेत गरेका छन् । त्यसैले फिल्ममा उनको अभिनयभन्दा ‘ड्रेस’ छनोट राम्रो छ ।

 

तस्बिर : सुरेन्द्र थापा 'स्माइल'