नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक गरिएको छ । साउथ फिल्मको शैलीमा तयार पारिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । चिकित्सा पेशामा आबद्ध एउटी युवतीले भोग्नुपरेको भयानक घटनामा फिल्मको कथा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । २ मिनेट ५० सेकेन्ड लम्बाईको ट्रेलर बुलन्द बनेको छ ।
फिल्ममा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीलगायतको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक मदन थापा हुन् भने शरण ऋषिले छायांकन गरेका हुन् । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपालीसँगै अंग्रेजी, तमिल र हिन्दी भाषामा बनाइएको छ ।
फिल्मका निर्माता चन्दन झा हुन् । काठमाडौंसँगै उदयपुरको गाईघाटमा छायांकन भएको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । अब दोस्रो ट्रेलरमा प्रदर्शन मिति खुलाउने तयारीमा निर्माण टिम छ । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिस्टममा पहिलो पटक नेपाली फिल्म तयार हुन लागेको हो । फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन छ ।

