
शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा उत्रिएको फिल्म ‘कैदीको पत्र’ले विशेष शोमा सुखद प्रतिक्रिया प्राप्त गरेको छ । रिलिजकै दिन फिल्मकर्मी र सञ्चारकर्मीका लागि काठमाडौंको सुनधारास्थित सिडिसी सिनेमाज्मा आयोजना गरिएको शोमा ब्रिटिश तथा नयाँ नेपाली कलाकारहरुको अभिनय, स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा, छायांकन र प्रस्तुतीको प्रशंसा भएको हो ।
स्कटल्याण्डमा सम्पूर्ण छायांकन भएको फिल्मलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । आफूले लामो समय मिहिनेत गरेर बनाएको फिल्मलाई फिल्मकर्मी, पत्रकार र दर्शकले रुचाएकोमा निर्देशक बैरागले खुसी व्यक्त गरे । विशेष शोमा पाएको प्रशंसाले प्रमुख कलाकारद्वय कुनाल विश्व र सलिना थापा पनि हर्षित देखिए । कामको प्रशंसा हुँदा हौसला मिलेको उनीहरुको भनाई थियो ।
एक युवकको वरपर सम्बन्धित हुने व्यक्तिहरु र उसको प्रेम सम्बन्धमा आउने उतार-चढावलाई फिल्मले चित्रण गरेको छ । प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा व्यहोर्नुपर्ने उतार-चढाव र भोग्नुपर्ने कठिनाइलाई देखाएको छ । फिल्ममा समावेश सबै गीतका शब्द निर्देशक बैरागकै हो भने पटकथा तथा संवाद पनि उनी स्वयंले लेखेका हुन् ।
साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रहेर फिल्म बनेको हो । फिल्ममा कुनाल र सलिनासँगै ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

