Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’बीच प्रतिष्ठाको लडाइँ, ‘कैदीको पत्र’ पनि हलमा

फिल्मीखबर, काठमाडौं, 2023/04/28

यस वर्षको सुरुवात नै नेपाली फिल्मबीचको भिडन्तबाट भएको थियो । बैशाख १ गते ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भएका थिए । यो भिडन्तमा ‘जारी’ व्यापार र प्रतिक्रिया दुवैमा अब्बल निस्कियो । एक हप्ता सलमान खानको फिल्मलाई छाडेपछि फेरि यो हप्ताको शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

यी तीन फिल्ममध्ये ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’लाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ । किनकि, दुवै हिट फिल्मका श्रृंखला हुन् । र, फेरि पनि व्यावसायिक सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती छ । मल्टीप्लेक्सहरुले शोज बाँडफाँटमा ‘प्रसाद २’पछि दोस्रो स्थानमा ‘नाइँ नभन्नू ल ६’लाई राखेका छन् । तर, दुवै फिल्मको एड्भान्स बुकिङ सुखद हुन सकेन । अब ‘विन्डो सेल’को भर छ ।

 

three nepali film


‘कैदीको पत्र’ले मल्टीप्लेक्सहरुमा औसत पाएको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स क्यूएफएक्स च्यानलमा भने फिल्म प्रदर्शन भएको छैन । स्व. ईश्वर मानन्धरले लेखेको कथामा फिल्म बनेको हो । सनम कुमार बैराग निर्देशित फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ ।

विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । आशिर्वाद क्षेत्रीको यो डेब्यू फिल्म हो । ‘नाइँ नभन्नू ल’ सिरिजका पर्याय बनेका अनुभव रेग्मी यसमा केमियो भूमिकामा छन् ।

त्यस्तै, सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु छ । पात्र मात्र परिवर्तन छन् । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले उम्दा प्रतिक्रिया पाएको थियो । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।