Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘एक्स ९’लाई पेन इन्डिया रिलिजको तयारी

फिल्मीखबर, काठमाडौं, 2023/04/27

mukunda bhatt and pradeep khadka

 

धेरैलाई लाग्न सक्छ ‘एक्स ९’ चर्चाका लागि मात्र घोषणा गरिएको त होइन ? यो लाग्नु स्वभाविक पनि हो । किनकि, दुई वर्षदेखि यो फिल्मको कामभन्दा बढी चर्चा छ । छायांकन निस्कने सुरसार समेत छैन । फिल्ममा बलिउड सुपरस्टार सुनिल सेट्टीको अभिनय रहने भन्दै निर्देशक मुकुन्द भट्टले मिडियामा ठूलो हल्लाखल्ला समेत गरे । तर, सुनिलसँग अझैसम्म कागजी सम्झौता भएको छैन ।

फिल्मको निर्माणमा ढिलाइ भएको भन्दै अभिनेता अनमोल केसीले हात झिकेपछि उनको ठाउँमा अभिनेता प्रदीप खड्काको प्रवेश भएको छ । तर, बुधबार निर्देशक मुकुन्द भट्टले ‘एक्स ९’का लागि सुरुवाती चरणमा सम्झौता गरिएका कलाकारलाई लिएर नयाँ फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बनाउने घोषणा गरे । यो घोषणपछि ‘एक्स ९’ अब नबन्ने त होइन भन्ने आशंका उब्जिएको छ ।

तर, निर्देशक भट्ट ‘चोर पुलिस’पछि ‘एक्स ९’ बन्ने दाबी गर्छन् । लोकेशन हन्टिङका लागि अष्ट्रेलियामा रहेका उनले फिल्मीखबरसँग अनलाइन कुराकानीमा भने, ‘यसको छायांकन जहिले गरे पनि अक्टोबर महिनामा नै गर्नुपर्छ । अघिल्लो अक्टोबरमा छायांकनमा जान भ्याइएन । अब आउँदो अक्टोबरबाट भने छायांकनमा निस्कने छौं । त्यसभन्दा अगाडि ‘चोर पुलिस’को छायांकन भ्याउनेछु ।’

‘एक्स ९’ ठूलो क्यानभासमा बन्ने र पेन इन्डिया रिलिजको तयारी भैरहेकाले छायांकनमा निस्कन समय लागेको मुकुन्दको भनाई छ । बलिउडको एउटा ठूलो कम्पनीले फिल्मलाई प्रस्तुत र वितरण गर्ने उनले बताए । फिल्ममा प्रदीपसँगै भारतीय अभिनेत्री र अन्य कलाकारहरु रहने भट्ट बताउँछन् । बैशाख अगाडि उनी प्रदीपसँग पेन इन्डिया रिलिजको चाँजोपाँजो मिलाउन मुम्बई गएका थिए ।