जेल जानुभन्दा अगाडि अभिनेता पल शाह करिअरको उत्कर्षमा थिए । कलाकार बन्न चाहने प्रायःले जुन चिजको सपना देख्थे, त्यो उनले प्रत्यक्ष महसुस गरिरहेका थिए । उनको नामैले म्यूजिक भिडियो चथ्यो । फिल्म हेर्न हलसम्म दर्शक ओइरिन्थे । जहाँ गयो दर्शकहरुको भीड लाग्थ्यो । जब उनलाई एक घटनामा जेल सजाय तोकियो, तब धेरैले सोचे उनको करिअर अब पूरै ध्वस्त भयो ।
.jpg)
तर, जेल सजाय हुँदा पनि उनीप्रति सडक र सामाजिक सञ्जाल दुवैतिर सान्त्वना देखियो । उनको रिहाइको माग गर्दै सडक तात्यो । रक्तदान समेत आयोजना भए । सामाजिक सञ्जालमा एउटा ठूलो समुह उनको पक्षमा सतिसाल बनेर उभियो । जेल सजायपछि उनको थप लोकप्रियता चुलिएको देखेर चेक बुकसहित केही थान निर्माता/निर्देशकहरुले जेलमै पुगेर फिल्मको अफर समेत गरे ।
गत फागुनमा पल जेलमुक्त भए । केही दिन रिहाइको खुसीमा उनी माला र खादाले पुरिए । कतिले उनलाई भेट्न सेड्युलमा समेत बस्नु पर्यो । एक महिनादेखि भने उनी नियमित काममा फर्किएका छन् । दिनैपिच्छे म्यूजिक भिडियोको छायांकनमा व्यस्त उनको मेला-महोत्सवमा पनि माग चर्किएको अवस्था छ । जबकि, जेल जीवनभन्दा अगाडि मेला-महोत्सवमा उनको खासै माग हुने गर्थेन ।
रिहा भएपछि उनको पहिलो सार्वजनिक कार्यक्रम नै महोत्सव थियो । रुकुम महोत्सवमा सहभागी हुन उनी चार्टर हेलिकप्टरमार्फत् काठमाडौंदेखि रुकुम पुगेका थिए । त्यहाँ उनलाई हेर्न मानवसागर उर्लिएको थियो । अघिल्लो साता उनी तुलसीपुर महोत्सव पुगे, त्यहाँ पनि भीड सानो थियो । त्यसअघि रोल्पा र दाङको एक कार्यक्रममा पुग्दा पनि उनलाई हेर्नेको भीड विशाल देखिएको थियो ।
.jpg)
यसै साता पल इटहरीको खाना महोत्सवमा सहभागी भए । रातिको समयमा स्टेज उक्लिएका उनलाई हेर्न हजारौंको भीड उर्लिएको थियो । उनी एकपछि अर्को महोत्सवमा सहभागी भैरहनु र महोत्सवमा उनलाई हेर्न हजारौं दर्शकहरुको उपस्थिति देखिनुले जेल जीवनपछि पलको क्रेज थप चुलिएको देखिन्छ । अब यो क्रेज उनको फिल्म रिलिज हुँदा हलमा कति देखिन्छ, त्यो महत्त्वपूर्ण हो ।

