सम्बन्ध भन्ने कुरा कर्कलाको पानी जस्तो हो, अडिन पनि सक्छ र पोखिन पनि । फिल्म क्षेत्रमा त झन् यो सबैभन्दा बढी देख्न पाइन्छ । निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनबीचको तीन चरणको सम्बन्ध हेर्दा यो बुझ्न सकिन्छ कि सम्बन्ध भन्ने कुरा तोडिन र गाँसिन समय लाग्दैन । उनीहरुबीच एक चरण उल्का मिल्ती थियो । ‘प्रेमगीत’पछि पानी बाराबार नै भयो । अहिले फेरि मिल्ती छ ।
फिल्म ‘चंखे शंखे पंखे’मा पहिलो पटक सुदर्शन र सन्तोषबीच जुगलबन्दी भएको थियो । तर, उनीहरुबीचको पहिलो सहकार्यले रंग देखाउन सकेन । दोस्रो सहकार्य फिल्म ‘प्रेमगीत’मा भयो । फिल्म बक्सअफिसमा औसत चल्यो तर वाहवाही नसोचेको पायो । र, यही फिल्मपछि सुदर्शन र सन्तोषको सम्बन्ध नराम्ररी चिसियो । त्यसबेला उनीहरुबीच निकै ठूलो भनाभन भएको समेत बताइन्छ ।
‘प्रेमगीत’पछि दुवै अलग-अलग भए र आफ्नै हिसाबले फिल्म बनाउँदै आइरहेका छन् । अहिले सुदर्शन रोमान्टिक विधामा सफल निर्देशकको रुपमा चिनिन्छन् । सन्तोषले पनि सफल निर्माताको रुपमा आफूलाई चिनाइसकेका छन् । केही समययता उनीहरुको सम्बन्ध पनि सुमधुर हुँदै आएको छ । भेटघाट समेत बाँक्लिएको छ । एक-अर्काको फिल्मलाई शुभकामना पनि दिने गरेका छन् ।
सोमबार सुदर्शन निर्देशित ‘प्रसाद २’को प्रिमियरमा सन्तोष पनि पुगेका थिए । उनलाई फिल्म हदै मन परेछ । अनि त तारिफ गरेरै थाकेनन् । मिडियाको अगाडि मात्र होइन, फेसबुकमा समेत उनले फिल्मको प्रशंसामा शब्द खर्चिए । उनले सुदर्शनलाई पटक-पटक अंकमाल गर्दै ‘इमोसनको किंग’को समेत उपाधि दिए । ‘प्रसाद २’मा सुदर्शनले आफ्नो ज्यान दिएको सन्तोषको तर्क थियो ।
उनले ‘प्रेमगीत’को आगामी सिरिजमा सहकार्य हुनसक्ने पनि बताए । निर्माता सेनले भने, ‘हामीबीच सहकार्य हुनसक्छ । म फिल्म इन्डस्ट्रीमा आएकै सुदर्शन थापाको कारणले हो । उहाँबाटै मेरो फिल्म निर्माणमा यात्रा सुरु भएको हो । ‘प्रसाद २’ हेरेपछि त मेरो मनै छोयो । बरु मलाई उहाँको ‘म यस्तो गीत गाउँछु’ले त्यति छोएको थिएन तर यसमा त उहाँले आफ्नो ज्यान नै दिनुभएको छ ।’

