निर्देशक मुकुन्द भट्टले लकडाउनभन्दा अगाडि फिल्म ‘एक्स ९’को घोषणा गरेका थिए । अनमोल केसीदेखि सौगात मल्लसम्मलाई फिल्ममा अनुबन्धित गरिएको थियो । तर, अहिलेसम्म फिल्म निर्माण हुन सकेको छैन । फिल्मको निर्माणमा ढिलाइ भएको भन्दै अनमोलले हात झिकिसकेका छन् । उनको ठाउँमा निर्माण टिमले अभिनेता प्रदीप खड्कासँग सम्झौता गरेको जानकारी प्राप्त छ ।
तर, निर्देशक भट्टले ‘एक्स ९’भन्दा अगाडि ‘चोर पुलिस : टम एण्ड जेरी’ नाममा नयाँ फिल्म बनाउने भएका छन् । यो फिल्म उनले ‘एक्स ९’का लागि सुरुवाती चरणमा सम्झौता भएका कलाकारलाई लिएर बनाउन लागेका हुन् । सौगात मल्ल, पुष्प खड्का, अर्पण थापा, शक्ति श्रेष्ठ र अनुप विक्रम शाहीको फिल्ममा मुख्य भूमिका रहने बुधबार एउटा पोस्टर सार्वजनिक गर्दै जानकारी गराइयो ।
कमेडी जनरामा निर्माण हुने फिल्ममा कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेलको पनि अभिनय रहनेछ । फिल्मका लागि मुख्य अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया र नेपालमा फिल्म खिचिनेछ । अहिले मुकुन्द ‘लोकेशन हन्टिङ’का लागि अष्ट्रेलियामा छन् । केही दिनअघि उनी क्यानाडा समेत पुगेका थिए ।
सुदिप चन्द्र बख्रेलले निर्माण गर्ने फिल्मको लेखक मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनार हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा दीपक आरजे र राजु भट्टको संगीत रहनेछ । समिर खरेल र सुमन ढकाल कार्यकारी निर्मातामा छन् । निर्देशक भट्टले यो फिल्मपछि प्रदीपलाई लिएर ‘एक्स ९’ बनाउनेछन् । उनले यसअघि ‘लप्पन छप्पन’को दुईटा श्रृंखला निर्देशन गरेका थिए ।

