नेपाली फिल्मकर्मी र राजनीतिज्ञको बोलीमा विश्वास गर्नु भनेको आफैं मूर्ख हुनु हो भन्ने गरिन्छ । उनीहरु समय र परिस्थितिअनुसार बोली बदल्न सक्छन्, जसरी छेपारोले छिनछिनमा रंग फेर्छ । चर्चाका लागि बोलेको कुरा जब पूरा हुँदैन तब आफू पानीमाथिको ओभानो हुन प्रायः फिल्मकर्मीहरु मिडियालाई दोष दिने गर्छन् । जुन प्रयास अहिले निर्देशक ज्ञानेन्द्र देउजाले पनि गरिरहेका छन् ।
केही हप्ता अगाडि निर्देशक देउजाले फिल्मीखबरसँगको फोन संवादमा रेखा थापाले निर्माण गर्न लागेको फिल्ममा रेखासहित पूजा शर्मा र आँचल शर्माको अभिनय रहने जानकारी गराएका थिए । तर पछि खुल्न के आयो भने उनले आँचललाई फिल्म अफर मात्र गरेका रहेछन् । साइन भैसकेको रहेनछ । आँचलले स्क्रिप्ट मागेपछि देउजा र रेखाले अब उनीसँगको ‘च्याप्टर क्लोज’ गरेका छन् ।
फिल्ममा आँचल नहुने भएपछि निर्देशक देउजाले आफ्नो बोली फेर्दै उनीसँगको भेटलाई चियागफको संज्ञा दिएका छन् । सोमबार ‘प्रसाद २’को प्रिमियरमा पुगेका उनले आँचलको नाम उच्चारण नगरी चिया खाएर गरेको कुरा न्यूजमा आएको बताउँदै अहिलेसम्म कसैलाई प्रस्ताव नगरेको दाबी गरे । आफूले दुईजना वा चार-पाँचजना नायिका राखेर पनि फिल्म बनाउन सक्ने देउजाले बताए ।
‘नजन्मिएको सन्तानको बारेमा अहिले कल्पना नगरौं । म दुईजना वा चारजना नायिका लिएर पनि फिल्म बनाउन सक्छु । फिल्ममा रेखा र पूजाबाहेक अरु फाइनल भएका छैनन् । कसैसँग फर्मली कुरा पनि भएको छैन । हामीले फर्मली प्रस्ताव राखेका पनि छैनौं । प्रस्ताव जसलाई पनि राख्न सक्छौं,’ उनले भने । उनको कुरामा रेखा र पूजाले ठूलो उपाधि जितेझैं गरी हात जुधाएर खुसी मनाए ।
केही समयअघि फिल्ममा तीन नायिका हुने र त्यसमध्ये एउटा पात्रमा आँचल फाइनल भएको दाबी गरेका निर्देशक देउजाले अहिले फिल्ममा रेखा र पूजाबाहेक कोही फाइनल नभएको र कसैलाई अफर नगरेको भन्दै बोली फेर्नुले उनले आफूप्रति नै अविश्वासको वातावरण बनाएका छन् । हुन त फिल्मकर्मीले बोली फेर्नु सामान्य कुरा हो । सत्य स्वीकार्य त सहास चाहिन्छ, जुन कमैमा हुन्छ ।

