आफैंमा अस्तव्यस्त भएको फिल्म हो, ‘प्रसाद २’ । छायांकन नहुँदैदेखि विभिन्न लफडामा फस्यो । कहिले निर्देशक फेरिने, कहिले कलाकारले फिल्म छाड्ने, कहिले निर्माता परिवर्तन हुने, कहिले छायांकनमा गएर पनि छायांकन नहुने जस्ता घटनाले फिल्म झमेलै झमेलामा फसेको थियो । दोस्रो पटकमा जेनतेन फिल्मको सुटिङ सकियो । तर, लफडा सकिएन । अदालतसम्म फिल्म तानियो ।
.jpg)
अब बैशाख १५ गतेबाट फिल्म प्रदर्शन हुँदैछ । तर, लफडा ज्यूँकात्यूँ छ । एकातिर बैंकिङ कसूरको मुद्धामा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि निर्माता सुभाष थापा फरार छन् । अर्कोतिर छायांकन भएको ठाउँका स्थानीयदेखि प्राविधिकसम्मले पूरा पैसा पाएका छैनन् । यसका बावजूद सोमबार फिल्मको प्रिमियर गरियो । तर, नामको मात्र थियो प्रिमियर, माहोल त पूरै अस्तव्यस्त ।
.jpg)
प्रिमियरका लागि काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजको साढे तीन सय सिट क्षमताको एउटा हल ‘बुक’ गरिएको थियो । तर, सिट क्षमताभन्दा दोब्बर अतिथि पुगेका थिए । फिल्म सुरु नहुँदै सबै सिट भरिए । अनि, अतिथिहरु अप्ठ्यारो मान्दै हलको सिढीमा बस्न बाध्य भए । हलभित्र यस्तोसम्म दृश्य देखियो कि सिढीमा बस्ने ठाउँ नभएर कतिले उभिएर समेत फिल्म हेरेका थिए ।
.jpg)
प्रायः प्रिमियरमा अतिथिलाई भेडा-बाख्रा जसरी एउटै हलमा कोचेर फिल्म देखाइन्छ । फिल्मकै सदस्यहरु सातपुस्ते आफन्त लिएर प्रिमियरमा पुग्छन् । अनि, जसबाट तारिफ सुन्नका लागि प्रिमियर राखिन्छ, उनीहरु नै हलको सिढीमा बसेर फिल्म हेर्न बाध्य हुन्छन् । निर्माता/निर्देशकले पनि सिट क्षमताभन्दा बढीलाई निमन्त्रणा गर्छन् । ‘प्रसाद २’को प्रिमियर भद्रगोलको एउटा नमुना बनेको छ ।
.jpg)
त्यस्तै, पैसा नपाएका फिल्मका प्राविधिकहरु प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई लिएर प्रिमियरमा पुगेका थिए । उनीहरु फिल्म चल्न नदिने भन्दै आक्रोशित देखिन्थे । प्राविधिकहरुले प्रिमियरको माहोल विगार्ने देखेपछि वितरक गोपालकाजी कायस्थ र निर्देशक सुदर्शन थापा हलको एउटा कुनामा छलफल गरिरहेका थिए । निर्माताले प्राविधिकहरुको ११ लाख बढी तिर्न बाँकी छ ।

प्रिमियरमा आँखा विझाउने अर्को एउटा दृश्य थियो, जहाँ सेलिब्रेटीका लागि फोटो खिच्ने ठाउँको छेउमै राखिएको स्ट्यान्डी प्लेक्समा प्रदर्शन मिति फोटोकपी पेपरमा प्रिन्ट गरेर टाँसिएको थियो । त्यसले प्रिमियरको माहोललाई नै गिज्याएको थियो । चैत २४ गतेबाट फिल्म सरेपछि त्यहीबेलाको पोस्टरलाई प्रयोग गर्दै फोटोकपी पेपरमा नयाँ प्रदर्शन मिति प्रिन्ट गरेर पुरानो मिति छोपिएको थियो ।
जे होस्, प्रिमियरको माहोल भद्रगोल र अस्तव्यस्त भए पनि फिल्मले सेलिब्रेटीहरुबाट गज्जबको प्रतिक्रिया प्राप्त गर्यो । फिल्मको विषयवस्तु, प्रस्तुतिकरण, कलाकारको अभिनय, छायांकन, ब्याकग्राउन्ड स्कोर आदि पक्षको अतिथिहरुले खुलेर प्रशंसा गरेका थिए । हुन त प्रिमियर प्रशंसा सुन्नको लागि नै आयोजना गरिन्छ । प्रिमियरमा फिल्मको कसैले कमजोरी औंल्याएको इतिहास छैन ।

