
नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा आयोजना हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाट कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यस संस्करणको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराएकी हुन् ।
फिल्म फेस्टिभलको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही बैशाख १५ देखि १७ सम्म, दोस्रो चरणमा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा बैशाख २०, २१ र २२ गतेसम्म र तेस्रो चरणमा काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा बैशाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ । फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ ।
आम मानिसमा उनीहरुको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकार रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य फेस्टिभलको रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन् । तीन सहरमा हुने महोत्सवमा युरोपका ख्याति प्राप्त निर्देशकहरुका आठवटा फिल्म तथा नेपालमा निर्माण भएका छोटा फिल्महरु प्रदर्शन गरिनेछ ।
तीनवटै ठाउँमा महोत्सवको सुरुमा ह्यामी रामेजनद्वारा निर्देशित फिल्म ‘एनी डे नाउ’ प्रदर्शन गरिनेछ । यसैगरी, महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु पनि प्रदर्शन गरिनेछन् । जसमा अंकित खड्गीद्वारा निर्देशित ‘आई वान्टेड टु बी लाइक माधुरी दिक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’ र ग्रिष्म गिरीको ‘ब्लुज अफ पिंक’ छन् ।

