
बैशाख १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने सुरेश सेन्चुरीको संगीत तथा अञ्जु पन्त र सागर आलेको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री सलिना थापाले नृत्य गरेकी छन् ।
स्कटल्याण्डमा छायांकन भएको फिल्मलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार-चढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले जानकारी दिए । फिल्मको पटकथा तथा संवाद निर्देशक बैराग स्वयंले लेखेका हुन् भने सबै गीतमा उनकै शब्द रचना छ ।
साहित्यकार स्वर्गीय ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित भएर निर्माण भएको फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी आदि कलाकारहरुको अभिनय रहेको छ ।
दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता रहेको फिल्ममा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन, रामशरण कोइरालाको मुख्य सहायक निर्देशन र यासिन एनचौबीको रंग संयोजन रहेको छ ।

