नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको फिल्म ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि केही संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक तथा निर्माता नवल खड्काले बताए । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ ।
नवलले भने, ‘सेन्सर बोर्डसँगको कुराकानीमा कुनै पनि दृश्य र संवादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न मैले अनुरोध गरेको छु । आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर प्रदर्शन गर्नका लागि सर्टिफिकेट दिनेछ । नदिएको खण्डमा न्यायका खातिर म अदालत जानेछु । हामी फिल्मका कुनै पनि दृश्य तथा संवादहरू नकाटिकन नै जस्ताको त्यस्तै दर्शकसामु पुर्याउनेछौं ।’
खुला सीमाका कारण भैरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्धको प्रतिरोधमा फिल्म आधारित रहेको निर्देशक खड्काले बताए । एक हप्ताअघि सार्वजनिक शीर्ष गीतमा समावेश दृश्यपछि फिल्म सेन्सरमा रोकिन सक्ने धेरैको आँकलन थियो । गीतमा नेपाल-भारत सीमामा काँडेतार लगाउनु पर्ने सन्देशसहित नेपालको भूमि हडप्न भारतीय सेनले गरेको प्रयासलाई देखाइएको थियो ।
फिल्ममा निर्देशक नवल स्वयंको मुख्य भूमिका छ । कथा लेखन पनि उनकै हो । उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि फिल्ममा अभिनय रहेको छ । ‘काँडेतार’लाई सौरभ लामाले छायाँकार गरेका हुन् ।

