Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डद्वारा राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रको लागि आवेदन माग

फिल्मीखबर, काठमाडौं, 2023/04/24

Film Development Board

 

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा प्रदान गर्न लागिएको राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पछिल्ला दुई वर्षमा रिलिज भएका नेपाली फिल्महरुको आवेदन माग गरिएको छ । आइतबार बोर्डले सूचना जारी गर्दै २०७८ बैशाख १ देखि २०७९ चैत्र मसान्तभित्रका फिल्महरुलाई आवेदन दिन माग गरेको हो ।

राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ बैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएर प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा २०७८ बैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएको हुनुपर्नेछ । आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका फिल्मको हकमा उक्त समयसीमा जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् ।

चलचित्र पुरस्कारमा सहभागी हुन २०८० बैशाख ३० गतेभित्र र विशेष चलचित्रमा सहभागी हुन २०८० बैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । अघिल्लो वर्ष राष्ट्रिय पुरस्कार तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटक राष्ट्रिय पुरस्कारमा दुई वर्षका फिल्महरुले प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३-३ वटा फिल्महरु घोषणा हुनेछन् ।

 

Film Development Board


उत्कृष्ट लेखन (कथा, पटकथा र संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मलाई देशको राष्ट्र प्रमुख (राष्ट्रपति)को हातबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिन्छ । उल्लेखित विधाहरुबाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेको अवस्थामा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस गर्न पाउने प्रावधान रहेको छ ।