Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ४’मा मलिनाको लामो रोल कसरी खुम्चियो ?

फिल्मीखबर, काठमाडौं, 2023/04/24

Malina Joshi

 

भनिन्छ, दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म साइन गर्ने बेलामा कुनै कलाकारले स्क्रिप्ट पाउँदैनन् । सेटमा पुगेपछि मात्र आफ्नो भागको स्क्रिप्ट पाउँछन् । तर पनि यही टिमको फिल्ममा काम गर्न प्रायः कलाकारहरु मरिहत्ते गर्छन् । त्यसको दुईटा कारण छ, टिमप्रतिको विश्वास र सफलताको लोभ । यिनै कारण थिए, अभिनेत्री मलिना जोशी ‘छक्का पञ्जा ४’मा आबद्ध हुनुमा ।

डेब्यू फिल्मदेखि उनले हिटको सुख पाएकी थिइनन् । जसले गर्दा उनको करिअरै संकटमा परेको थियो । यस्तो अवस्थामा ‘छक्का पञ्जा ४’को अफर उनका लागि ढुंगा खोज्दा देउता मिले जस्तो भयो । तर, फिल्म साइन गर्दा मलिनाको जति रोल थियो, पटक-पटकको स्क्रिप्ट पूर्नलेखनमा खुम्चिँदै गयो । अन्ततः उनी केमियोमा सीमित भइन् । ट्रेलरमा समेत उनले १ सेकेन्ड स्थान पाइन् ।

फिल्ममा आफ्नो रोल काटिएकोमा उनी असन्तुष्ट रहेको गाइँगुइँ सुनिएको थियो । यद्यपि, उनले आफ्नो गुनासो कहीँ व्यक्त गरिनन् । आइतबार उनी ‘छक्का पञ्जा ४’को ५१औं दिने सफलताको कार्यक्रममा उपस्थित भएकी थिइन् । मलिनालाई देखेपछि फिल्मका लेखक समेत रहेका दीपकराज गिरीले धन्यवाद व्यक्त गरे, त्यो पनि विशेष रुपमा । किनकि, मलिनाको रोल छोट्याउने उनै थिए ।

दीपकले भने, ‘विशेषगरी मलिनालाई धन्यवाद भन्छु । किनभने, मलिनालाई हामीले पहिल्यै साइन गरेका थियौं । पछि स्क्रिप्टमा धेरै परिवर्तन आयो र उसको रोल एकदमै छोटो भयो । तैपनि उसको मुस्कान त्यस्तै छ । आज ऊ हामीसँग छ, धेरै-धेरै धन्यवाद ।’ फिल्ममा मलिना प्रहरी अफिसरको भूमिकामा छिन् । तर, भूमिका निकै छोटो हुँदा उनले अभिनय देखाउने मौका पाएकी छैनन् ।