Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराज गिरी : बोर्डको डाटा गलत भन्ने तर कति हो नभन्ने

फिल्मीखबर, काठमाडौं, 2023/04/24

दीपकराज गिरीलाई नेपाली फिल्मको चतुर खेलाडी भनिन्छ । उनी एक पाइला सार्नुअघि दायाँबायाँ मात्रै होइन, टाढासम्म पनि हेर्ने गर्छन् । यसैले त फिल्म निर्माणमा होमिएदेखि उनले असफलता देखेका छैनन् । यो उनकै सुझबुझपूर्ण कदम र निर्णयको नतिजा हो । उनले दर्शकको मनोविज्ञान र बजारको सीमारेखा राम्रैसँग बुझेका छन् । उनका फिल्म सफल हुने प्रमुख आधार नै यिनै हुन् ।

दर्शकबाट सबैभन्दा बढी गाली खानेमा पनि दीपकराज पर्छन् । र, एउटा सत्य के हो भने नेपाली फिल्ममा सबैभन्दा बढी विश्वास गरिएका पनि उनी नै हुन् । पहिलो फिल्म ‘६ एकान ६’देखि पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’सम्मले यो प्रमाणित गरिसके । उनी आफैं स्क्रिप्ट लेख्छन् । आफैं टिम जुटाउँछन् । प्रदर्शनका लागि आफैं जुट्छन् । आम्दानीको हिसाबकिताब पनि आफैं नै बुझ्छन् ।

यतिबेला ‘छक्का पञ्जा ४’को कलेक्सनलाई लिएर बहस र विवाद छ । २०७९ सालको चैत अन्तिममा चलचित्र विकास बोर्डले त्यस वर्ष रिलिज भएका सबै स्वदेशी र विदेशी फिल्मले नेपालमा गरेको कमाई सार्वजनिक गर्‍यो, जसमा ‘छक्का पञ्जा ४’को कलेक्सन १६ करोड देखिएको छ । तर, त्यसभन्दा अगाडि नै फिल्मका वितरकले १८ करोड कलेक्सन गरिसकेको भन्दै दाबी गरेका थिए ।

 

deepakraj giri


बोर्डले फिल्महरुको कमाई सार्वजनिक गरेपछि दीपकराजले आपत्ति जनाए । बोर्डले ‘छक्का पञ्जा ४’को कलेक्सन कम देखाएको उनको आशय थियो । यसलाई कतिपयले ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोड्न नसक्नुको पीडाको रुपमा अर्थ्याए । किनकि, ‘छक्का पञ्जा’ सिरिजले सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड बनाउँदै आएको थियो । अब यो रेकर्ड ‘कबड्डी ४’को नाममा छ ।

शनिबार फिल्मले १६ वटा हलमा ५१औं दिन मनायो । केही मिडियामा फिल्मका निर्माता निर्मल शर्माले २० करोड कमाएको दाबी गरे । आइतबार काठमाडौंमा आयोजित फिल्मको ५१औं दिने सफलताको कार्यक्रममा दीपकराज भने कलेक्सनको बारेमा बोल्न चाहेनन् । उनले सरकारी डाटा नै सार्वजनिक भएपछि मान्छे चुप हुनुपर्छ भन्दै आफूलाई प्राप्त डाटा भन्दा बहस हुनसक्ने बताए ।

बोर्डको डाटा गलत भन्दै फेसबुकमै आपत्ति जनाउन भ्याएका उनी वितरकबाट प्राप्त डाटा सार्वजनिक गर्न भने किन डराइरहेका छन् ? बहस हुन्छ भन्ने डरले ? दीपकराज बहसदेखि डराउने पात्र हुन् ? कहिलेदेखि ? राज्यको निकायले गलत डाटा दिइरहेको छ भने सच्चाउन वा सुधार गर्न झकझकाउने जिम्मेवारी आम नागरिकको हो । राजश्व चुहावट रोक्नका लागि पनि यो आवश्यक छ ।

बक्सअफिस सिस्टम देशका सबै हलमा जडान भैसकेको छैन । जसले गर्दा फिल्मको यकिन कलेक्सन सिस्टममा देखिँदैन । यसैले दीपकराजले बोर्डको डाटामा फिल्मको कमाई गलत देखियो भनेर आपत्ति जनाउनु जायज हो । यो हिम्मत कमै निर्मातामा हुन्छ । किनकि, आम्दानी जति देखियो, त्यसबराबरको कर तिर्नुपर्छ । तर, कति कम देखियो, त्यो खुलाउने ल्याकत पनि राख्न सक्नुपर्छ ।