कुनै समय रंगमञ्चमा विशिष्ट नाम बनाएका सनम कुमार बैराग विगत २३ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बेलायतको व्यस्त जीवनले उनलाई करिब १६ वर्ष नाटक निर्देशनबाट टाढा राख्यो । तर, विदेशीभूमिमा नेपाली नाटक र फिल्मलाई फैलाउने उनको सोच र संकल्पले २०१६ देखि पखेटा फिजाउन थालेको छ । उनले २०१६, २०१७ र २०१८ मा तीनवटा नाटक बेलायतमै मञ्चन गरे ।
अब सनम निर्देशित पहिलो फिल्म ‘कैदीको पत्र’ बैशाख १५ गतेबाट प्रदर्शन हुँदैछ । स्व. ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित भएर फिल्म बनेको हो । वर्षौं पहिले एक भेटमा स्व. मानन्धरले बैरागलाई आफ्ना दुईवटा किताब दिएका रहेछन् । त्यसमध्ये ‘कैदीको पत्र’मा समावेश एउटा कथा अत्यन्त मन परेपछि त्यो कथामा नाटक वा फिल्म बनाउने उनमा हुटहुटी जाग्यो ।
जब सनम बेलायतको भागदौड जीवनबाट समय निकालेर फिल्म बनाउन कस्सिए, त्यसबेला किताबका लेखक मानन्धरको निधन भैसकेको थियो । र, उनले किताबमाथि फिल्म बनाउने अनुमति स्व. ईश्वर मानन्धरका छोरा विनोद मानन्धर (फिल्म निर्माता)बाट लिए । केही समय अगाडि बेलायत पुगेको मौकामा विनोद मानन्धरले फिल्म हेरेपछि प्रशंसा गरेको निर्देशक बैराग स्मरण गर्छन् ।
फिल्म रिलिजको चाँजोपाँचो मिलाउन यतिबेला नेपालमा रहेका निर्देशक बैरागले एक भेटमा भने, ‘किताबको कथाभन्दा फिल्म धेरै पृथक बनेको छ । हामीले संवाददेखि लोकेशनसम्म एकदमै ध्यान दिएका छौं । बेलायतमा फिल्म हेरेपछि विनोद मानन्धर दाई नै ‘सरप्राइज’ हुनुभयो । बुबाको किताबमाथि यति राम्रो फिल्म बन्छ भनेर कल्पनै गरेको थिइनँ भनेर उहाँले प्रशंसा गर्नुभएको थियो ।’
किताबमाथि फिल्म बनाउन एकदमै गाह्रो हुने उनको अनुभव छ । ‘किताबमा एउटा पात्र यस्तो थियो भन्ने हुन्छ तर फिल्म बनाउँदा त्यो पात्र यही हो भनेर बुझाउन सक्नुपर्छ । कथाले भन्न खोजेको कुरा पात्रको हाउभाउ र भावभंगीबाट देखाउनु पर्छ, जसले गर्दा दर्शकले त्यो पात्रको भावना बुझ्न सकूँन्,’ उनी भन्छन् । किताबलाई फिल्ममा ढाल्दा आफूले केही परिवर्तन गरेको उनी बताउँछन् ।
नेपालमा यसअघि पनि किताबमा आधारित भएर केही फिल्म बनेका छन् । तर, प्रायःले किताबको भाव र गहिराइलाई आत्मसात् नै गर्न सकेनन् । यसबाट ‘कैदीको पत्र’ मुक्त छ ? निर्देशक बैराग आफूले किताबको भाव र मर्मलाई नमारेको दाबी गर्छन् । उनको बुझाईमा कथा पढेर बुझ्ने के हो र त्यसलाई बुझेर उतार्ने के हो भन्ने कुरामा निर्देशक स्पष्ट भए मात्र किताबको भाव र मर्म मर्दैन ।
‘लेखकले लेखेका कुराहरु पूर्ण रुपमा बुझियो भने फिल्म बनाउँदा न्याय गर्न सकिन्छ । कथा नै बुझेको छैन भने त्यसलाई न्याय गर्न सकिँदैन,’ उनी भन्छन्, ‘मैले ‘कैदीको पत्र’ तीनसय चोटी पढेँ र त्यसलाई कतिचोटी लेखेँ, लेखाजोखा छैन । मैले किताबको भाव र मर्मलाई मर्न दिएको छैन जस्तो लाग्छ ।’ विगतमा नाटक गर्दाको अनुभवले फिल्म बनाउन धेरै नै सहज भएको सनमको कथन छ ।

