बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को कथाको थिमअनुसार चिठ्ठी लेखन प्रतियोगिताको घोषणा गरिएको छ । यो प्रतियोगितामा सहभागी हुनका लागि आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका वा आफूले सँधै सम्झिरहने व्यक्तिलाई चिठ्ठी लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्नेमध्ये ३ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रथम पत्रले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार पुरस्कार पाउनेछ । पत्र एफोर साइजको सेतो कागजमा लेखिएको हुनुपर्ने, नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने, पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्ने, एक बढी पाना प्रयोग गर्न सकिने, अभिवादन र समापन समावेश गर्नुपर्ने, कम्तिमा ५०० देखि बढीमा १००० शब्द लेखिएको हुनुपर्ने सर्त राखिएको छ ।
पत्र नेपाल अथवा विदेश जहाँबाट पनि नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्ने, प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्ने र प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखेर काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ ठेगानामा पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा फिल्मको ट्रेलर हेरेर आफूले बुझेको कथा पनि लेख्नुपर्ने सर्त छ ।

चिठ्ठीमा नाम र ठेगानासँगै फोन नम्बर लेखेको हुनुपर्नेछ भने विदेशबाट पठाउनेले नेपालमा हुने आफन्तको परिचय खुलाउनुपर्नेछ । प्रतियोगिताको निर्णायकहरुमा विप्लव प्रतीक, मनोजबाबु पन्त र महेश त्रिपाठी रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र त्यसको प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन गरिनेछ ।
पत्र बैशाख १० गतेदेखि बैशाख २० गतेसम्म पठाइसकेको हुनुपर्ने र बैशाख २५ गतेसम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । बैशाख २७ गते प्रतियोगितामा उत्कृष्ट हुनेको नाम घोषणा गरिनेछ । आफ्ना भावनाहरू र हृदयले व्यक्त गर्न चाहिरहेका अलिखित कुराहरुलाई अभिव्यक्त गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फिल्मका निर्देशक बिक्रम सापकोटाले जानकारी दिए ।
फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् चिठ्ठी पुऱ्याउने हुलाकीको चरित्र निभाएका छन् । फिल्ममा महेशसँगै बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । आइसफल प्रोडक्सनसँग सहकार्य गरेर कालीपार स्टुडियोले फिल्मको निर्माण गरेको हो ।
गाउँमा चिठ्ठी पुऱ्याउने हुलाकीको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा फिल्मले पेश गरेको छ । फिल्मका लेखक तथा सम्पादक निर्देशक सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन छ । रामकृष्ण पोखरेल र विक्रम सापकोटाद्वारा निर्मित फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक र ज्योति रानाको प्रोडक्सन साउण्ड छ ।

