.jpg)
करिब ७/८ वर्षदेखि अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले नयाँ वर्षको अवसर पारेर आफू फेरि आमा बन्न लागेको खुसी साटेकी हुन् । उनले श्रीमान र छोरीसँगको तस्बिरहरु सेअर गर्दै इन्स्टाग्राममा लेखेकी थिइन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’
त्यस्तै, गरिमाले बिहीबार इन्स्टामा पोस्ट्याएको छोरीसँगको एक तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ । विगत लामो समयदेखि उनी श्रीमान हरि थपलियासँग बेल्जियममा बस्दै आएकी छन् । त्यहाँ उनीहरुको ठूलो व्यवसाय छ । कुनै समय गरिमा फिल्ममा रुचाइएकी अभिनेत्री हुन् । सोझी, साधारण तथा गाउँले चरित्रमा गरिमा पहिलो रोजाईमा पर्थिन् । उनी विवादरहित अभिनेत्री हुन् ।
गरिमाको करिअरको उत्कृष्ट फिल्मको रुपमा ‘झोला’लाई लिइन्छ । यो फिल्मबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् । तर, यो फिल्मपछि उनी विवाह बन्धनमा बाँधिइन् र अभिनयमा निस्क्रिय भइन् । उनले ‘जीवन मृत्यु, प्रितीको फूल, सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो पटक गरिमा फिल्म ‘तीन घुम्ती’मा देखिएकी थिइन् ।

