Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

शो बाँडफाँडमा सलमानको फिल्म र ‘जारी’बीच टक्कर

फिल्मीखबर, काठमाडौं, 2023/04/20

फिल्म ‘दबंग’पछि नेपालमा बलिउड सुपरस्टार सलमान खानका हरेक फिल्मको ठूलो पखाई हुन्थ्यो । केही फिल्मले मनग्य कमाए पनि । उनका फिल्मसँग भिड्न समेत नेपाली फिल्मकर्मीले आँट गर्दैन थिए । हलवालाहरु सलमानको फिल्मले दशैं ल्याउँछ भन्ने गर्थे । तर, केही वर्षयता उनका फिल्महरु लगातार डुबिरहेका छन् । र, नेपालका वितरकहरुको करोडौं पानीमा मिलिरहेको छ ।

भोलि शुक्रबारबाट उनै सलमान खानको नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ प्रदर्शनमा आउँदैछ । विश्वभर ५ हजार बढी स्क्रिनमा एकसाथ रिलिज हुन लागेको फिल्मलाई मनोज राठीको समुहले भारतीय एक करोड (नेपाली १ करोड ६० लाख) हालेर नेपाल भित्राएको छ । तर, यसपटक सलमानको फिल्मलाई नेपाली फिल्म ‘जारी’ फलामको चिउरा बन्न सक्ने सम्भावना देखिन्छ ।

 

movie jaari and kisi ka bhai kisi ki jan


‘किसी का भाई किसी की जान’लाई नेपालका मल्टीप्लेक्सहरुले उच्च शो त दिएका छन् तर केहीमा ‘जारी’भन्दा कम छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘जारी’लाई दोस्रो हप्तामा ५२ शो र सलमानको फिल्मलाई ४७ शो प्रदान गरेको छ । शुक्रबारको बुकिङ पनि ‘जारी’को नै राम्रो छ । यसले नेपाली दर्शकहरुमा सलमानको फिल्मप्रति खासै उत्साह नभएको देखाउँछ ।

त्यस्तै, सलमानको फिल्म र ‘जारी’लाई शुक्रबार वान् सिनेमाज्ले आफ्ना दुई स्टेशनमा क्रमशः १३ र ९, बिग मुभिजले ८ र ६, क्यूज सिनेमाज्ले ६ र ४, विएसआर मुभिजले ५ र ४, रन्जना सिनेप्लेक्सले ५ र ६, आइएनआइ सिनेमाज्ले बुटवल र काठमाडौं गरी ८ र १०, एफक्यूबले ९ र ६ शो दिएका छन् । केही मल्टीप्लेक्सले सलमानको फिल्मभन्दा ‘जारी’माथि बढी विश्वास गरेको देखिएको छ ।

पहिलो हप्ता आक्रामक व्यापार गरेको ‘जारी’ले दोस्रो हप्तामा पनि राम्रो कमाई गर्ने निश्चित छ । ‘किसी का भाई किसी की जान’ले अब्बल प्रतिक्रिया प्राप्त गरेको खण्डमा भने ‘जारी’लाई केही असर गर्न सक्छ । यद्यपि, ‘वर्ड अफ माउथ’ एकदम बलियो भएकाले फिल्मलाई त्यत्ति डर छैन । गत वर्षको परिदृश्य हेर्ने हो भने नेपाली दर्शकले घरेलू फिल्मलाई नै बढी प्राथमिकतामा राखेका छन् ।