नेपाली फिल्म क्षेत्रमा केही कलाकारबीच हार्दिक सम्बन्ध छैन । यद्यपि, मिडियासामु घनिष्ट मित्रता देखाउँछन् । वास्तविकतामा भने पानी बाराबारकै अवस्था हुन्छ । केही वर्षयता दुई शर्मा अभिनेत्री पूजा र आँचलबीच अघोषित शितयुद्ध छ । मौका मात्र पाउनुपर्छ, एकअर्काप्रति घोचपेच र कटाक्ष गर्न दुवै पछाडि पर्दैनन् । मानौं, उनीहरु नेपाली फिल्मका पुष्पकमल दाहाल र केपी ओली हुन् ।
केही समयअघि आँचलले पूजालाई ‘अग्रज’ भनेपछि पूजाले ‘भाउजु’ भन्दै बदला तिरिन् । हालै एक अन्तर्वार्तामा आँचलले स्लिम हुन आफूले नुनबिनाको तरकारी खाने गरेको बताएपछि पूजाले पनि घुमाउरो रुपमा आँचलप्रति लक्षित गर्दै आफूले खाना नबार्ने गरेको र कुनै डाक्टरले पनि खाना खानु हुँदैन नभन्ने गरेको बताइन् । यो प्रशंग यतिबेला फिल्म क्षेत्रमा व्यापक चर्चाको विषय बनेको छ ।
उनीहरुबीच नुन बार्ने र खाना नबार्ने विषयमा चलेको दोहोरीलाई लिएर मिडियामा गसिप बन्न थालेपछि हालै निर्देशक विकासराज आचार्यको जन्मदिनमा पुगेकी आँचललाई एक सञ्चारकर्मीले पूजाको कटाक्षलाई लिएर प्रश्न गरे । तर, उनी पूजाको विषयमा बोल्न मानिनन् । अहिले आफूहरु ‘नाइँ नभन्नू ल ६’मा रहेको र यसमा कोही पूजा नभएको भन्दै उनी सम्भावित विवादबाट बच्न खोजिन् ।
यद्यपि, आँचलले नुन नखाएको विषयमा भने स्पष्ट पारेकी छन् । ‘मैले सीमित समयका लागि मात्र नुन नखाएको हो । नयाँ वर्षपछि मैले खान थालिसकेँ,’ उनी भन्छिन्, ‘म ‘भष्मे डन’को केमियो पार्टमा छु । त्यसका लागि के गर्दा राम्रो देखिन्छ भनेर आफ्नो बडीमा ‘ट्रान्सफर्मेसन’ लिएर आउने क्रममा नुन नखाएको हुँ । फेरि अर्को प्रोजेक्ट आउँदा छोडौंला । फेरि खाउला । यो ठूलो कुरै होइन ।’

