.jpg)
अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाले पहिलो पटक एकसाथ काम गरेको फिल्म हो, ‘नम्बरी सुन’ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको लमजुङस्थित भुजुङ्ग गाउँमा ३१ दिनसम्म छायांकन भएको थियो । फिल्ममा समावेश ‘तिमी वर म पिपल’ बोलको गीत भने यतिबेला दोलखा जिल्लाको चर्चित पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा छायांकन भैरहेको छ ।
.jpg)
निर्माण पक्षले फिल्मीखबरलाई उपलब्ध गराएको गीत छायांकनको केही तस्बिरमा गौरव र नम्रता रोमान्टिक अवतारमा देखिएका छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । तीन दिनदेखि छायांकन भैरहेको गीतमा अर्जुन पोखरेलको संगीत, प्रताप दास र अनु चौधरीको युगल स्वर छ । निर्देशक राजु गिरीले गीतको भिडियोलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरिएको बताएका छन् ।
.jpg)
७० वर्षअघिको कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि विशेष भूमिका छ । गौरव र नम्रता फिल्म राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त छन् ।
.jpg)
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई गौतम राज खड्काले सम्पादन गर्नेछन् ।

