
नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल र नेपालगञ्ज पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा जानकारी गराउनका लागि उनीहरुले त्यस क्षेत्रका दर्शकसँग भेट गर्न लागेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा भेटघाट गर्ने कार्यक्रम छ ।
निर्देशक रेनशा राई राणाले भनिन्, ‘फिल्म चल्नु अगाडि नै हामी दर्शकहरुसँग भेटघाट गर्न आतुर छौं । दर्शकले हाम्रो फिल्मलाई लिएर कस्तो विचार व्यक्त गर्नुहोला भन्ने कुराले म उत्साहित छु ।’ बुटवलका विभिन्न कलेज तथा सिनेमा हलमा धिरज र जसिताले दर्शकसँग भेट गर्नेछन् । यस्तै, शनिबार उनीहरुले नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्नेछन् ।
नेपालमा पहिलो पटक नृत्यको विषयमा फिल्म बनेकाले दर्शकको एउटा कित्ता उत्साहित छ । ट्रेलर र गीत सार्वजनिकपछि कतिले बलिउड फिल्म ‘एविसीडी’सँग समेत दाँजेका छन् । दर्शकहरुलाई हलसम्म तान्ने यो गतिलो हतियार बन्न सक्छ । निर्देशक राईले डान्सको माध्यमबाट नेपाली युवापुस्ताको अव्यक्त सपना र रहरलाई फिल्ममा निकै मिहिन ढंगले देखाउन खोजेको बताएकी छन् ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमलगायतको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

