
कुनै बेला बलिउडका तीन खान (आमिर, सलमान र शाहरुख)का फिल्मले नेपालमा अधूम व्यापार गर्थे । उनीहरुको फिल्म रिलिज हुँदा नेपाली फिल्म हप्तैसम्म लाग्थेनन् । ठूला-ठूलो वितरक कम्पनीबीच उनीहरुका फिल्म नेपाल ल्याउन हानाथाप नै हुन्थ्यो । तर, केही वर्षयता तीन खानका फिल्महरुले नेपालका वितरकलाई डुबाएको मात्र छ, शाहरुखको ‘पठान’लाई अपवाद छाड्ने हो भने ।
अब यही शुक्रबारबाट सलमान खान स्टारर नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ प्रदर्शनमा आउँदैछ । वर्षौंदेखि सलमानको फिल्म नेपाल ल्याउँदै आएको मनोज राठीको समुहले भारतीय १ करोडमा यो फिल्म नेपाल भित्राएको हो । यसअघि सलमानको फिल्म ‘अन्तिम’बाट नराम्रोसँग डुबेको यो समुह यसपटक पहिलाको घाटा समेत असुल्ने दाउमा छ । तर, नाफाको ग्यारेन्टी छैन ।
वितरक राठीले नेपालमा सलमानको क्रेज राम्रो रहेकाले भारु एक करोडमा फिल्म किन्ने जोखिम उठाएको बताएका छन् । फिल्म नेपालमा प्रदर्शन हुने भएपछि सलमानले एक भिडियो सन्देशमार्फत् नेपाली दर्शकलाई सम्बोधन गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । नेपालका मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुल्ला गरिसकेका छन् । फिल्मलाई प्रायः मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् ।
फरहाद समजीद्वारा निर्देशित फिल्ममा सलमानका साथै वेंकटेश, पूजा हेगडे, जगपति बाबू, विजेन्द्र सिंह, सिद्धार्थ निगम, शहनाज गिल, जगपति बाबू, जस्सी गिल, पलक तिवारीलगायतको अभिनय छ । सलमा खान निर्माता रहेको फिल्ममा जगपति र विजेन्द्र भिलेनको भूमिकामा छन् । भारतमा आक्रामक एड्भान्स बुकिङ भैरहेको फिल्मले ३० करोडमाथिको ओपनिङ गर्नसक्ने देखिन्छ ।

