सम्भवतः नेपाली फिल्मको ६० वर्ष लामो इतिहासमा एउटै कलाकारको दुई फिल्म एकै मितिमा भिडेका थिएनन् । अब यो इतिहास अभिनेता दयाहाङ राईको नाममा लेखिएको छ । उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ बैशाख १ गते एकसाथ प्रदर्शनमा आए । यसमध्ये ‘जारी’ व्यापारमा तगडा छ । ‘बिहे पास’को व्यापार पनि कमजोर छैन । प्रदर्शनको दुई दिन फिल्मको व्यापार राम्रो रह्यो ।
फिल्मले प्रदर्शनको चार दिनमा घरेलू बजारबाट एक करोड ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस सिस्टममा देखिन्छ । ‘जारी’को आक्रामक व्यापारको बावजूद पनि ‘बिहे पास’ले हासिल गरेको यो अंक अत्यन्त सुखद हो । यसले दयाहाङको चुलिँदो स्टारडम बोल्छ । यो फिल्मका वितरक समेत रहेका निर्माता रोहित कट्टेल आफ्नो लगानी सुरक्षित हुनेमा ढुक्क देखिन्छन् ।

उनी भन्छन्, ‘शुक्रबार र शनिबार व्यापार राम्रो थियो । आइतबारबाट अलि बसेको छ । ‘जारी’को असलले गर्दा पनि होला । एउटै कलाकारको दुईटा फिल्म रिलिज हुँदा असल त परिहाल्छ । यद्यपि, फिल्मको व्यापारबाट सन्तुष्ट छौं । लाइफटाइम कलेक्सनबाट लगानी सुरक्षित हुनेछ ।’ फिल्मलाई दर्शकले रुचाएकाले आगामी शुक्रबार र शनिबार पनि व्यापार राम्रो हुने रोहितको विश्वास छ ।
एउटा झुट लुकाउन श्रृंखलाबद्ध झुटको सहारा लिँदा वैवाहिक सम्बन्धमा आउने दरार र श्रीमति तथा ससुरालाई फकाउन सरकारी जागिर खानै पर्ने बाध्यताका बीच एक युवाले गर्ने संघर्ष र प्रयत्नको कथालाई फिल्मले प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा हुने तस्करी, सरकारी कर्मचारीको घुस्याहा प्रवृति, लोकसेवा पास गर्न आर्थिक चलखेललगायतको विषय पनि फिल्मले उठाएको छ ।
प्रवेश पौडेलद्वारा निर्देशित फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छन् । सुभाष गजुरेल, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नविन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपानेको पनि अभिनय छ । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको ‘बिहे पास’को प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । शिव ढकाल छायाँकार हुन् ।

