यस वर्षको पहिलो सुपरहिट फिल्म बन्न सफल भएको ‘जारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्म रिलिजको चौंथो दिनमा सार्वजनिक गरिएको ‘रीत’ बोलको रोमान्टिक गीतमा मनोज थापा मगरको संगीत, हर्क साउँदको शब्द रचना तथा संगीतकार थापा मगर र सुनिता थेगिमको युगल स्वर रहेको छ । फिल्ममा कथावाचनको भूमिका खेलेको यो गीतको अडियो बुलन्द र कर्णप्रिय छ ।
‘रीत’ गीतले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमभाव बोल्छ । जारी तिर्न नसकेर मिरुना दयाहाङको घरमा ‘नोकर’ बस्न आएपछि एक विन्दूमा उनीहरुबीच पलाएको प्रेम र नोंकझोकलाई गीतमा बुनिएको छ । यो गीतमा समावेश दृश्यमा यसअघि कालीप्रसाद बाँस्कोटाद्वारा स्वरबद्ध ‘चरी बस्यो’ गीत तयार पारिएको थियो । तर, उक्त गीत फिल्मको अन्तिम इन्ट्रोमा छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले घरेलू बजारमा आक्रामक व्यापार गरिरहेको छ । फिल्मले तीन दिनमा ५ करोड आसपास कमाई गरेको छ । सोमबार पनि फिल्म देशभर हाउसफुल छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म लामो रेसको घोडा बन्न निश्चित छ । घरेलू बजारमा सर्वाधिक कमाईको रेकर्ड राखेको ‘कबड्डी ४’पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतको पनि अभिनय छ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।

