Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बाइक हाँकेरै सुटिङका लागि नेपाल आइपुगे साउथ सुपस्टार अजित कुमार

फिल्मीखबर, काठमाडौं, 2023/04/17

साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइक हाँकेरै नेपाल आइपुगेका छन् । अजित भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन् । उनले त्यहाँको रामजी स्विट्स एण्ड फूडमा खाजा समेत खाए । त्यस पसलका सञ्चालक रामजी शाहका अनुसार, अजित कुमारले तराईको लोकल नास्ता खाएका थिए । र, उनले नेपाली खानाको तारिफ पनि गरेको रामजी बताउँछन् ।

 

ajit kumar - ramji shah

(अजित कुमारसँग फोटो खिचाउँदै पसलका सञ्चालक रामजी शाह)


उनले फोनवार्तामा भने, ‘अजित सरले पुरी, जेरी, दही र चिया खानुभयो । सबैथोक मीठो छ, फेरि पनि आउँछु भनेर जानुभएको छ । उहाँको सेक्यूरिटी एकदमै टाइट थियो । धेरै कुरा नै हुन पाएन ।’ रामजीसँगको छोटो कुराकानीमा अजितले आफूहरु फिल्मको छायांकनका लागि मुस्ताङ हिँडेको जानकारी गराएका छन् । उनी फिल्मको टिमसहित नेपाल आएको रामजीले जानकारी दिए ।

‘अजित सरले हामी छायांकनका लागि मुस्ताङ आएका हौं र यही शिलशिलामा नेपालको ठाउँ पनि हेरौं भनेर बाइकमा आएका हौं भन्दै हुनुहुन्थ्यो । उहाँसँग फिल्मको अरु टिम पनि थियो । उहाँ केही साथीहरुसँग बाइकमा हुनुहुन्थ्यो, टिम चाहिँ चारचक्के गाडीमा थियो,’ रामजी भन्छन्, ‘मैले उहाँहरुले खाएको खाजाको पैसा लिन नै मानेको थिइनँ । तर, अजित सरले कर गरेरै दिएर जानुभयो ।’

 

ajit kumar


सन् २०२२ को अक्टोबरमा अजित बाइक हाँकेरै थाइल्यान्डसम्म पुगेका थिए । उनी बाइक चलाएर यूरोप समेत पुगिसकेका छन् । साथै, उनले बाइकबाट भारतका अधिकांश राज्य घुमिसकेका छन् । अजित पछिल्लो पटक फिल्म ‘भलिमै’मा देखिएका थिए । यो फिल्मले विश्वभर १ सय ५५ करोड कमाएको थियो । उम्दा अभिनय गर्ने अजित कुमार एक्सनमा बढी रुचाइएका अभिनेता हुन् ।