Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘बुलाकी’का वितरक ओझा भन्छन्, ‘दर्शक नै नआएपछि शोज उल्टियो’

फिल्मीखबर, काठमाडौं, 2023/04/16

नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट तीन फिल्म ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शनमा आए । यसमध्ये ‘जारी’ले मल्टीप्लेक्सहरुमा उच्च शोज पायो । एड्भान्स बुकिङ नै आक्रामक भयो । यतिबेला देशभरका हलहरु ‘जारी’मय छ । दर्शकहरु थामिनसक्नु भएपछि आइतबारबाट मल्टीप्लेक्सहरुले फिल्मको शोज बढाएका छन् । र, ‘बुलाकी’को धेरै शोज कटौती भएको छ ।

आइतबारबाट ७० प्रतिशत शोज घटेपछि ‘बुलाकी’का निर्माता विराज विष्टले शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै आइतबारबाट फिल्म हलमा नचलाउने घोषणा गरेका छन् । अफटाइममा शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटा पनि शोज नदिएको भन्दै निर्माता विष्टले हलबाट फिल्म फिर्ता लिएका हुन् । यद्यपि, यो समाचार तयार पार्दासम्म फिल्म हलबाट उत्रिसकेको भने छैन ।

हलबाट फिल्म उतार्न निर्माताले चाहेर हुँदैन । त्यो फिल्मको वितरक कम्पनीले पत्र काटेपछि मात्र हल सञ्चालकले फिल्म उतार्छन् । फिल्मलाई मोफसलमा वितरण अधिकार लिएको एफडी कम्पनीका अध्यक्ष छविराज ओझाले आइतबारका लागि टिकट विक्री भैसकेको छ भने फिल्म रोक्न नमिल्ने बताउँछन् । टिकट विक्री नभएको हलबाट भने फिल्म आइतबारदेखि नै उत्रने उनले बताए ।

‘बुलाकी’का निर्माता विष्ट दर्शक प्रतिक्रिया राम्रो हुँदा-हुँदै पनि हलवालाले शोज बाँडफाँडमामा विभेद गरेको आरोप लगाएका छन् । तर, वितरक ओझा दर्शक नै नआएपछि हलवालाले शोज उल्ट्याएको बताउँछन् । नेपालगन्जमा फिल्म राम्रो चलेको भएता पनि अरु ठाउँमा खासै नचलेको उनको भनाई छ । व्यापार कमजोर भएपछि हलवालाले शोज घटाउनु सामान्य रहेको उनको तर्क छ ।

 

Chhabi Raj Ojha


ओझा भन्छन्, ‘फिल्म जुध्दा शोजमा तलमाथि हुन्छ । यो निर्माताले बुझ्नु पर्ने कुरा हो । कसैलाई दोष दिएर हुँदैन । हलवालाहरुले पनि भाडा तिर्नुपर्ने हुन्छ । बल्ल कमाउने समय आएको छ । हामीले त कोशिश गर्ने न हो । बाँकी त फिल्मले नै कोशिश गर्नुपर्ने हुन्छ । फिल्म दमदार भएको भए त बुकिङ पनि राम्रो भैहाल्थ्यो नि । प्राप्त शोजमा दर्शकहरु नै नआएपछि शोज उल्टिएको हो ।’

निर्माताले ‘बुलाकी’लाई बैशाख १ मा ल्याउने निर्णय गर्दा नै आफूले त्यो मितिमा ठूला-ठूला फिल्म रहेकाले नल्याउन सुझाव दिएको ओझा बताउँछन् । ‘मैले बरु चैत ३ मा रिलिज गर्नु भनेर भनेको थिएँ । भीडमा रिलिज गर्दा यो भैहाल्छ नि । मैले पाँच वर्षदेखि यही देख्दै आएको छु । अनलाइन बुकिङको सिस्टम आएदेखि कुन फिल्म चल्छ र कुन चल्दैन भन्ने पहिल्यै थाहा हुन्छ,’ ओझाले भने ।

‘बुलाकी’लाई हलवालाले कुबेला शो दिएको भन्ने आरोप पनि निर्माता विष्टको छ । तर, उनको कुरामा सहमत छैनन्, वितरक ओझा । ‘जारी’को उदाहरण दिँदै उनी भन्छन्, ‘पूर्वका हलमा ‘जारी’को शोज बुधबार नै हाउसफुल भैसकेको थियो । यो अवस्थामा पनि ‘बुलाकी’ले शोज पाएको नै थियो । अहिले विहानको ६ बजे र रातीको १२ बजे समेत ‘जारी’ हाउसफुल छ । त्यसैले कराएर हुँदैन ।’

आफैंमा सफल निर्माता समेत रहेका ओझा अहिले आफू नै फिल्म बनाउन डराएको बताउँछन् । ‘लामो समयदेखि म आफैं फिल्म बनाउन डराइरहेको छु । पहिला जे फिल्म बनाउँदा पनि सजिलै चल्थ्यो । अहिले दर्शकलाई फिल्म मन नपरेसम्म चल्दैन,’ उनी भन्छन्, ‘म आफैंले बनाएको फिल्म भोलि उत्रियो भने कहाँ जानु ! कसैलाई कराएर त हुँदैन । त्यसैले फिल्म नै बलियो हुनुपर्दछ ।’