नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’लाई निर्माता विराज विष्टले हलबाट उतार्ने घोषणा गरेका छन् । प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको, कुबेला (अफटाइम) शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको आदि कारण देखाउँदै निर्माता विष्टले फिल्म उतार्ने घोषणा गरेका हुन् ।
विराजले शनिबार साँझ फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौं ।’
अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक-चौतारा फिल्म देखाउने विष्ट बताउँछन् । काठमाडौंले अवहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै फिल्म बनाउँदा फिल्म क्षेत्रले समेत त्यही व्यवहार दोहोर्याएको उनको गुनासो छ । ‘देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर आउनेछु । म थाकेको मात्र हुँ, हारेको छैन,’ विराज लेख्छन् ।
‘बुलाकी’ले कम शोजका बावजूद पनि प्रदर्शनको पहिलो दिन सुखद व्यापार गरेको थियो । शनिबारको व्यापार पनि निराशाजनक थिएन । तर, शु्क्रबारबाटै प्रदर्शनमा आएको ‘जारी’ले आक्रामक व्यापार गरेपछि हल व्यावसायीहरुको प्राथमिकतामा ‘बुलाकी’ परेन । गत वर्ष फिल्म ‘राधा’का निर्माताले पनि शोजमा भारी कटौती भएपछि प्रदर्शनको दुई दिनमै हलबाट फिल्म उतारेका थिए ।

