Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘डीडीएलजे’बाट चोरिएको ‘नम्बरी सुन’को पोस्टर

फिल्मीखबर, काठमाडौं, 2023/04/15

nambari sun and ddlj poster match

 

विदेशी फिल्मको कथादेखि पोस्टरसम्म नक्कल गर्न नेपाली फिल्मकर्मीहरु सबैभन्दा सिपालु छन् । कहिले विदेशी फिल्मको सिंगो कथा नै उठाएर फिल्म बनाइदिन्छन् त कहिले विदेशी फिल्मको पोस्टरमा नेपाली कलाकारको अनुहार टाँसिदिन्छन् । तर, हरेक पटकको चोरी समातिँदै आएको छ । किनकि, डिजिटल युगका दर्शक नेपाली फिल्मकर्मीभन्दा हजार गुणा चलाख र चतुर छन् ।

एकपटक फेरि एक नेपाली फिल्मको पोस्टरमा भएको चोरी समातिएको छ । त्यो फिल्म हो, ‘नम्बरी सुन’ । नयाँ वर्षको अवसरमा शुक्रबार सार्वजनिक गरिएको फिल्मको पोस्टर बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’को सक्कल बमोजिमको नक्कल हो । ‘नम्बरी सुन’को सार्वजनिक पोस्टरमा गौरव पहारीले बेहुलीको भेषमा सजिएकी नम्रता सापकोटालाई आफ्नो काँधमा बोकेका छन् ।

उता ‘डीडीएलजे’को पोस्टरमा शाहरुख खानले बेहुलीको भेषमा रहेकी काजोललाई आफ्नो काँधमा बोकेका छन् । ‘नम्बरी सुन’को पोस्टरमा गौरवलाई शाहरुख र नम्रतालाई काजोल बनाइएको छ । गौरवलाई शाहरुखले लगाएको कालो ज्याकेट र ह्याट (टोपी) पनि लगाइदिएको भए पोस्टरमा फरक छुट्याउने चिज नै केही बाँकी रहँदैन थियो । नम्रता त काजोलकै अन्दाजमा प्रस्तुत छिन् ।

‘डीडीएलजे’ नेपाली दर्शकहरुको मन-मस्तिष्कमा अमिट छाप छाडेको फिल्म हो । अझै पनि धेरैको सिरानीमुनि र घरको भित्तामा शाहरुखले काजोललाई काँधमा बोकेको तस्बिरको ‘पोस्टर कार्ड’ भेटिन सक्छ । त्यस्तो आइकनिक फिल्मको पोस्टरको आइडिया चोरेर ‘नम्बरी सुन’को पोस्टर तयार पारिएको छ । तर, नक्कल गर्न पनि निर्माण टिमले अक्कल नपुर्‍याउँदा चोरी समातिएको छ ।