Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘जारी’को बम्पर ओपनिङ, पहिलो दिनको कमाई २ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2023/04/15

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले घरेलू बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । एड्भान्स बुकिङमै आक्रामक ओपनिङको संकेत गरेको फिल्मले पहिलो दिन २ करोड १ लाख कमाएको वितरक कम्पनी ‘द टी फल्क्स फिल्म्स’ले जानकारी गराएको छ । शुक्रबार फिल्मको देशभरका हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शनिबारको व्यापार थप आक्रामक हुने देखिएको छ ।

फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ८० बढी शो उपलब्ध गराएको थियो, जसमा सबै शो भरिएका थिए । अन्य मल्टीप्लेक्सहरुमा पनि यही अवस्था थियो । सिंगल थिएटरतर्फ पनि पहिलो दिन देशभर दर्शकको चाप उच्च देखियो । विशेषगरी, पूर्वका हलहरुमा फिल्म हेर्ने दर्शकको भीड बेजोड देखिएको छ ।

शनिबार पनि बिहानैदेखि फिल्मले देशभर हाउसफुल दर्शक भित्राइरहेको छ । मल्टीप्लेक्सका कति शोज ‘सोल्डआउट’ भैसकेका छन् । दोस्रो दिनको कमाई २ करोड ३० लाखभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । फिल्मको व्यापार मात्र तगडा छैन, प्रतिक्रिया पनि उस्तै उम्दा मिलेको छ । समीक्षकहरुले समेत फिल्मको तारिफ गरेका छन् । यसले फिल्म लामो रेसको घोडा बन्ने देखाउँछ ।

 

movie jaari


‘जारी’ रिलिजकै दिन अभिनेता दयाहाङ राईको जन्मदिन परेको थियो । उनले कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको टिम र मिडियाको साथमा जन्मदिनको केक काटे । उनले फिल्मलाई दर्शकले अत्याधिक रुपमा मन पराएकाले आफ्नो जन्मदिन अझ विशेष बनेकोमा खुसी व्यक्त गरे । दर्शकले आफ्नो परिवेश र कथा खोज्ने भएकाले ‘जारी’ रुचाइएको हुनसक्ने उनको बुझाई छ ।

फिल्मले लिम्बू संस्कारमा रहेको जारी प्रथालाई मियो बनाएर श्रीमान्-श्रीमतीबीचको सुन्दर प्रेमकथा बुनेको छ । फिल्मको पटकथा र संवाद सशक्त छ । अभिनेत्री मिरुना मगर फिल्मको मेरुदण्ड हुन् । अभिनयमा उनी दयाहाङमाथि हाबी छिन् । फिल्ममा करिब ३०/३५ मिनेट उनको संवाद छैन । त्यहाँ उनको आँखाले अभिनय गरेको छ । कलाकार विजय बरालको काम पनि प्रशंसनीय छ ।

‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट लेखनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन् । उनले लिम्बू समुदायको परम्परा, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषालाई कथामा गाँसेर सानदार ढंगले प्रस्तुत गरेका छन् । पटकथा बलियो भएकाले फिल्म बहकिएको छैन । केही दृश्य लामा भने अवश्य छन् तर पट्यारलाग्दा छैनन् ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ । ‘जारी’को इनिसियल व्यापार आक्रामक हुनुको कारण बलियो स्टारकास्ट, ट्रेलरले प्राप्त गरेको सकारात्मक प्रतिक्रिया र ‘चरी बस्यो’ गीतको लोकप्रियतालाई मानिएको छ ।