
कोरियोग्राफर रेनाशा राई राणाद्वारा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ । उनीहरुले नृत्यमा गरेको मिहिनेत ट्रेलरमा देखिन्छ ।
धिरजले निर्वाह गरेको ज्याकी पात्र पिताको सपना पूरा गर्न ब्रिटिस आर्मी बन्न खोजिरहेको छ । तर, उसको सपना डान्सर बन्ने छ । उसले आफ्नै सपना पूरा गर्ने अठोट लिएपछि आउने उतार-चढावलाई ट्रेलरमा चित्रण गरिएको छ । जसिताले निर्वाह गरेको रुबी पात्रलाई भने जसरी भए पनि डान्स कम्पिटिसनको उपाधि जित्नु छ । ज्याकी र रुबीबीचको प्रेमलाई पनि ट्रेलरमा देखाइएको छ ।
आगामी बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ । फिल्मका लागि धिरज र जसिताले एक वर्षभन्दा लामो समय डान्सको तालिम लिएका थिए । धिरजले त आर्मीको तालिम पनि झन्डै एक वर्ष लिएका थिए ।
आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र गीतमा द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । निर्देशक राणाले नेपाली समाजभित्रको यथार्थ कथालाई फिल्ममा प्रस्तुत गरिएको बताएकी छन् ।

