.jpg)
दुई वर्षदेखि युद्ध बानियाँको प्रेममा रहेकी अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । नयाँ वर्षको अवसरमा सुनधारास्थित काठमाडौं मलमा रहेको फेसियल हाउसले तयार पारेको क्यालेन्डर सार्वजनिक कार्यक्रममा उनले यस वर्ष आफू विवाह बन्धनमा बाँधिन लागेको बताएकी हुन् । यस वर्ष आफूले नयाँ व्यावसाय समेत सुरु गर्न लागेको पूजाले जानकारी गराइन् ।
उनले भनिन्, ‘यो वर्ष मैले जिन्दगीको एउटा नयाँ निर्णय लिँदैछु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ यो वर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पूरा गर्न तल्लिन रहने उनको भनाई छ । उनले प्रेमी बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट सञ्चालन गर्दैछिन्, जुन यही महिनाको अन्तिमतिर उद्घाटन गर्ने तयारी छ । योसँगै उनले होटल पनि सञ्चालन गर्दैछिन् ।
२०७९ साल आफ्नो लागि ठूलो पाठ बनेको र जीवनमा कहिल्यै नभोगेको कुरा भोगेको पूजाको अनुभव छ । अघिल्ला वर्षका कुरा २०८० सालमा नदोहोर्याउने उनले आफैंसँग प्रण लिएकी छन् । आफ्नो अभिव्यक्तिका कारण प्रायः विवादमा तानिने गरेकी पूजा अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताउँछिन् । तर, अन्यायको विरुद्ध आफू लड्न र बोल्न भने नछाड्ने पूजाको भनाई छ ।
उनले जेठबाट अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मको छायांकन सुरु गर्दैछिन् । यसपछि उनी आफैं फिल्म निर्माणको तयारीमा छिन् । करिब ६ महिना अगाडि उनले आफूले निर्माण गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अनुबन्धित गरेकी थिइन् । तर, अब यो फिल्म निर्माण हुने/नहुने टुंगो छैन । पूजा र सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु ३’को पनि तयारी गरिरहेका छन् ।

