Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हल्कारा’को ट्रेलर : जब धन कमाउन उडेका बाकसमा फर्किन्छन्

फिल्मीखबर, काठमाडौं, 2023/04/13

आगामी बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा वैदेशिक रोजगारीको कहालीलाग्दो पाटोलाई देखाउन खोजिएको छ । धन कमाउनका लागि विदेशिएका श्रीमानको पखाईमा बसिरहेकी एक महिलाको कथालाई फिल्मले प्रस्तुत गरेको ट्रेलरले प्रस्ट्याउँछ ।

 

Halkara Trailer Release Event


२ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको एक युवकको जीवनमा आउने उतार-चढावलाई पनि देखाइएको छ । ट्रेलरले फिल्मको दृश्यभाषा सशक्त रहेको संकेत गर्छ । फिल्ममा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निभाएका छन् । यो फिल्मबाट उनले अमेरिकामा भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

‘हल्कारा’मा बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री आदिको पनि अभिनय रहेको छ । कालीपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । लेखनमा उनका सारथी विप्लव प्रतीक र आकाश बराल हुन् ।

‘हल्कारा’ पूर्ण रुपमा कमर्शियल (व्यावसायिक) तथा मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक सापकोटाले बताएका छन् । फिल्मलाई पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएको उनको दाबी छ । अभिनेता त्रिपाठीले यो फिल्ममा आफूले साँचिक्कै अभिनय गर्ने मौका पाएको बताए । त्यस्तै, बिनिताले आफूले वर्षाैं लगाएर सिकेको अभिनयको अनुभवलाई फिल्ममा देखाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

रामकृष्ण पोखरेल र विक्रम सापकोटाको निर्माण रहेको फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक र ज्योती रानाको प्रोडक्सन साउण्ड छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्ने फिल्मको टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती डिजिटल वालेट छ भने नेपाली पात्रो कम्युनिटी पार्टनरमा छ ।