Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलको ‘दिमाग खराब’ तिहारमा

फिल्मीखबर, काठमाडौं, 2023/04/13

nischal basnet

 

निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’ आगामी वर्षको तिहारमा प्रदर्शन हुने भएको छ । निश्चलले बिहीबार निर्देशक मनोज पण्डितसँगको एक तस्बिर फेसबुकमा सेअर गर्दै फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुने घोषणा गरेका हुन् । कात्तिक २५ गतेदेखि ३० गतेसम्म तिहारको विदा भएकाले निश्चलले फिल्म प्रदर्शनका लागि उक्त मिति रोजेका हुन् ।

जनता र शक्तिको कथामा बन्न लागेको फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गर्नेछन् । ‘लुट’ सिरिजका कलाकार सौगात मल्ल फिल्ममा अनुबन्ध भैसकेका छन् । दयाहाङ राई र बुद्धि तामाङको पनि अभिनय रहने बताइएको छ । मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्काको नाम चर्चामा छ । चलचित्र विकास बोर्डमा फिल्मको निर्माण इजाजत लिँदा कलाकारमा उनको नाम राखिएको थियो ।

निश्चलले यो फिल्ममा ‘छक्का पञ्जा’ समुहसँग सहकार्यको प्रयास गरिरहेका छन् । दीपकराज गिरीसँग उनको केही चरण भेटघाट र स्क्रिप्टमा छलफल भैसकेको छ । दीपकराज समुह फिल्मलाई लिएर सकारात्मक छ । निश्चल आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’पछि नै ‘दिमाग खराब’ निर्माण गर्ने तयारीमा थिए । तर, यो नाम बोर्डमा अर्कै कम्पनीले दर्ता गरेपछि उनी अड्किएका थिए ।

निश्चलले ‘लुट २’पछि निर्देशन गरेका छैनन् । लकडाउनअघि उनी ‘जिन्दावाद’ नामक फिल्म निर्देशनको तयारीमा थिए । फिल्मको कथा बुद्धिसागरले लेखेका थिए । तर, यो फिल्मको काम स्क्रिप्ट लेखनकै चरणमा रोकियो । निश्चल आफैंले पनि केही थान स्क्रिप्ट लेखेका थिए । तर, कुनै पनि चित्त नबुझेपछि उनले निर्देशन गर्ने आँट गरेनन् । ‘दिमाग खराब’को स्क्रिप्टबाट भने उनी सन्तुष्ट छन् ।