Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अंकमाल गर्दै भुवन केसी र प्रदीपले तोडे संवादहीनता

फिल्मीखबर, काठमाडौं, 2023/04/13

pradeep khadka and bhuwan kc

 

गत असोजतिर फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी र अभिनेता प्रदीप खड्काबीच संवादहीनताको अवस्था थियो । फिल्मको हिन्दी डबलाई नेपालमा चल्न नदिने षड्यन्त्र रचिएको भन्दै प्रदीपले अग्रजप्रतिको सम्मान नै विर्सेर भुवन केसीलाई बोर्डबाट निस्कनु छैन र ? भन्दै धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका थिए ।

‘प्रेमगीत ३’ले भारतमा नेपाली फिल्मका लागि बाटो खोलेको भन्दै बोर्डद्वारा आयोजित सम्मान कार्यक्रममा समेत प्रदीप पुगेका थिए । आफूमाथि विभिन्न आरोप लगाएपछि भुवनले प्रदीपको ‘प्रकाश’ रिलिजपछि विभिन्न मिडिया पुग्दै उनलाई ‘फ्लप हिरो’ भनेका थिए । तर, फिल्म क्षेत्रमा दुश्मनी र मित्रता दिगो हुँदैन । भुवन र प्रदीपबीचको झन्डै ६ महिना लामो संवादहीनता पनि अन्त्य भएको छ ।

बुधबार दुवै काठमाडौंको एक पाँचतारे होटलमा आयोजित ‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सहभागी भएका थिए । प्रदीप उत्कृष्ट अभिनेताको अवार्ड थाप्न पुगेका थिए भने भुवन अवार्ड प्रदान गर्न अतिथिको रुपमा उपस्थित थिए । जब प्रदीप अवार्ड थाप्न स्टेजमा उक्लिए, तब स्टेजमा भुवनसहितका अतिथिहरु थिए । प्रदीपलाई टोपी लगाएर बधाई दिने जिम्मेवारी भुवनले पाएका थिए ।

स्टेज चढ्नसाथ प्रदीपले हात जोडेर भुवनलाई नमस्कार गरे । भुवनले हाँस्दै हात अघि बढाए र दुवैले हात मिलाए । अनि, अंकमाल गरे । त्यसबेला हल तालीले गुञ्जयमान भयो । त्यो ताली उनीहरुबीचको संवादहीनता तोडिएकोमा थियो । भुवनले प्रदीपलाई टोपी लगाइदिँदै फेरि अंकमाल गरे । यो दृश्य रोचक देखिए पनि दुवैले एकअर्कासँग असहज महसुस गरिरहेको सजिलै बुझ्न सकिन्थ्यो ।

 

pradeep khadka 2


भुवनका छोरा अनमोल र प्रदीपलाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । दुवै अहिलेका स्टार हुन् । यही कारण भुवनले प्रदीपलाई नरुचाउने गरेको बजारमा व्यापक चर्चा हुने गर्छ । उनले प्रदीपलाई अनमोलभन्दा अगाडि बढ्न नदिन ‘प्रेमगीत ३’ रिलिजको बेला विभिन्न कानुनी झमेला निकालेको समेत एकथरीको टिप्पणी छ । तर, भुवन केसीले यो कुरा पटक-पटक नकार्दै आइरहेका छन् ।