आगामी बैशाख १५ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार युट्युबमा सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेन्ड लम्बाईको ट्रेलरमा एक युवक र उसको वरपर सम्बन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार-चढावलाई चित्रण गरिएको छ । फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएकाले दृश्यहरु निकै लोभलाग्दा छन् ।
सनम कुमार बैरागद्वारा निर्देशित फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । फिल्मको पटकथा तथा संवाद निर्देशक बैरागकै हो ।
जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार-चढाव र भोग्नुपर्ने कठिनाइलाई फिल्मले देखाएको निर्देशक बैरागले बताए । स्व. ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा फिल्म आधारित छ । काठमाडौँ उपत्यकाभित्र जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने यस फिल्मको निर्मातामा दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी छन् ।
गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त (कोइराला), सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । फिल्मको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ ।

