.jpg)
बैशाख १ देखि प्रदर्शन हुन लागेका तीन फिल्ममध्ये ‘जारी’ले आक्रामक ओपनिङको संकेत गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्मको एड्भान्स टिकट बुकिङ उत्साहजनक देखिएको छ । विशेषगरी, पूर्वको विर्तामोड क्षेत्रमा फिल्मको आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । पूर्वी क्षेत्रको कथा उठाइएकाले पनि त्यहाँ फिल्मप्रति दर्शकको आकर्षण देखिएको हुनसक्छ ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको विर्तामोड हलमा फिल्मले पाएको १० शोमध्ये एक शो सोल्डआउट र बाँकी ९ शो हाउसफुलको संघारमा छ । क्यूएफएक्सको विराटनगर हलमा पनि सिट ‘बुक’ गर्ने दर्शक राम्रो देखिएका छन् । नारायणगढ, बुटवल र काठमाडौंका केही हलको शो पनि हाउसफुलको मुखमा छन् । क्यूएफएक्स चेनमा मात्र यो फिल्मले ६६ शो पाएको छ ।
बिहीबार साँझसम्म क्यूएफएक्सका प्रायः शो हाउसफुल हुने अवस्था देखिन्छ । राजधानीका वान् सिनेमाज, बिग मुभिज, एफक्यूब आदि मल्टीप्लेक्सहरुमा पनि फिल्मको एड्भान्स टिकट बुकिङ सुखद छ । एड्भान्स बुकिङमा देखिएको क्रेजले फिल्मले पहिलो दिन एक करोडभन्दा बढी कलेक्सन गर्ने सम्भावना देखिन्छ । त्यसपछि भने फिल्मको व्यापार ‘वर्ड अफ माउथ’ले निर्धारण गर्नेछ ।
बलियो स्टारकास्ट, ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्माण, चर्चित कवि तथा लेखक उपेन्द्र सुब्बाको पहिलो निर्देशन, बलियो टिजर-ट्रेलर तथा गीत आदि कारणले फिल्मप्रति दर्शकको ठूलो वर्ग आकर्षित छ । विदेश राइट्सबाटै लगानी सुरक्षित गरिसकेको फिल्मले अब नेपालबाट हुने सम्पूर्ण कमाई निर्माताको मुनाफा हुनेछ । यसैले पनि निर्मातालाई व्यावसायिक दबाब उतिधेरै छैन ।
लिम्बू समुदायमा प्रचलित जारी प्रथामा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो आदिको अभिनय छ । निर्देशक सुब्बाको लेखन रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

